काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गर्न लागेको 'बिल्डटेक एक्स्पो' को व्यवस्थापन तथा आयोजना सहकार्यको जिम्मा लिने भारतीय कम्पनीको नेपालमा कानुनी हैसियतमाथि प्रश्न उठेको छ। शुक्रबारबाट भक्तपुरको सल्लाघारीस्थित मैदानमा एक्स्पो सुरु भएको छ।
भारतीय कम्पनी इनो आइएनडीका लागि नेपालमा एक्स्पो आयोजना र व्यवस्थापनको काम गर्दै आएका नेपाली नागरिक महेन्द्र घिमिरेको नाममा इनो आइएनडी तथा इआएम कन्सेप्ट प्रालि दर्ता भएको छ। वैदेशिक लगानी ऐन मिचेर नेपालमा भारतीय कम्पनीले एक्स्पो गर्न नपाउने भन्दै नेपाली व्यवसायीको विरोधपश्चात् प्रशासनले वैधानिकतामाथि प्रश्न गरेको थियो।
प्रशासनको प्रश्नपछि नेपाली कम्पनी खडा गरी उक्त कम्पनीलाई नै आयोजक बनाइएको हो। नेपालमा एक्स्पो गर्न भारतीय कम्पनी इनो प्रालिले निर्माण उपकरण तथा प्रविधि क्षेत्रमा कार्यरत ८० प्रतिशतभन्दा बढी भारतीय कम्पनीको सहभागिता गराएको छ। उनीहरुले नेपालमा आयोजना हुने एक्स्पोका लागि १० लाखदेखि ५० लाख भारतीय रुपैयाँसम्म दिल्लीमै बुझाएको बताएका छन्।
एक्स्पोमा भारतीय विज्ञापन एजेन्सीले भारतबाटै मजदूर र कच्चा सामग्री भारतीय सवारी साधनमै बोकी नेपाल आएर स्टल निर्माण तथा इभेन्ट सेटअप गर्ने काम गरेको नेपाली विज्ञापन व्यवसायीहरुको आरोप छ।
तर निर्माण व्यवसायी महासंघका अध्यक्ष रबि सिंह भने व्यवसायीहरुको उक्त आरोप मान्न तयार छैनन्। नेपालमा कम्पनी स्थापना गरेर कानुनी रुपमा उक्त एक्स्पाे आयोजना गरिएको सिंहको दाबी छ।
भौतिक पूर्वाधार मन्त्रालयले समेत आफ्नो सक्रिय सहभागिता नरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले आफूले प्रवक्ताको जिम्मेवारी एक/दुई दिन अघिमात्र सम्हालेकाले यस बारेमा विस्तृत जानकारी नभएको बताए। एक्स्पोको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोख्रेलले गरेका हुन्।
नेपालमा दर्ता भएको कम्पनीमा नेपालमा एक्स्पो गर्न लाग्ने खर्च बराबरको मात्र बिल काट्ने गरिएको आरोप व्यवसायीको छ। नेपालमा रहेका भारतीय कम्पनीका उत्पादन बेच्दै आएका व्यापारीलाई समेत दिल्लीबाटै सम्पर्क गरेर १० लाख रुपैयाँमा स्टल भाडा मागिएको थियो। नेपालमा कारोबार गर्दा नेपालको राजश्व तथा कर कानुन मान्नुपर्ने भए पनि इनोले यसको पालनासमेत गरेको छैन।
भारतीय कम्पनी आयोजक हुने, सबै सामान भारतबाटै ल्याएर एक्सपो हुनुले सरकार तथा नेपाली व्यवसायीलाई केही नहुने व्यवसायीहरुको भनाइ छ। नेपाली व्यवसायी ९० प्रतिशतभन्दा बढीले भारतमै पैसा बुझाएका छन्। भारतबाट कामदार ल्याइएको छ। यस बारेमा सरकारले बुझ्नुपर्छ,’ इभेन्ट सोलुसन नेपालका सागर प्रधानले भने, ‘यस्ता इभेन्टहरु नेपालमा हुनु राम्रो हो। तर सरकारले यस्ता इभेन्टबाट केही पनि राजश्व नपाउनु दुःखदायी छ।’
अघिल्लो वर्ष इनोले सोही मैदानमा कनम्याक एक्स्पो आयोजना गरेको थियो। इनोले एक्स्पो गर्न भन्सारबाट अवैध रुपमा नेपाल ल्याएका एक्स्पो सेट अप गर्ने सामग्री नेपालमै गोदाम खोलेर भाडामा दिने काम अर्को कम्पनी ईआरएम कन्सेप्टले गर्दै आएको छ। सुरुमा भृकुटीमण्डप व्यवस्थापनसँग साँठगाँठ गरी भृकुटीमण्डपकै सरकारी जग्गामा गोदाम राखेको ईआरएमले हाल ग्वार्कोमा गोदाम सारेको छ।
३ वर्षदेखि दर्जनौं एक्स्पो तथा प्रदर्शनी व्यवस्थापनका साथै एक्स्पो सेट अप गर्ने सामग्री भाडामा लगाई ठूलो मात्रामा राजश्व चुहावट गर्नुका साथै नेपाली व्यवसायीलाई विस्थापन गरेको आरोप ईआरएममाथि लागेको छ। ईआरएम प्रालिका सञ्चालक विगतमा सोही भारतीय कम्पनी ईनो आईएनडीमा जागिरे थिए।
नेपालमा यो व्यवसायमा ठूलो सम्भावना रहेको बुझेपछि इनोले निजलाई नेपालमा कम्पनी दर्ता गरी काम सुरु गर्न नेपाल पठाएको थियो। ईआरएमको व्यवस्थापन र इनोको आयोजनामा आगामी फेब्रुअरी २८ देखि मार्च १ सम्म भृकुटीमण्डपमा वर्ल्ड ब्युटि एक्स्पोसमेत आयोजना गरिँदैछ।
प्रदर्शनीका लागि कम्पनीले नेपाल भित्र्याएका सबैजसो सामानको भन्सारसमेत गरिएको छैन। स्टल राख्ने कम्पनीले मेलामा प्रदर्शन गर्ने आफ्नो उत्पादनमात्र भन्सार धरौटीमा ल्याउन मिल्ने कानुनी व्यवस्था छ। यो नियम संसारभरका देशमा मेला आयोजना गर्दा पालना गर्ने गरिएको छ।
यही भन्सार कानुनकाे छिद्रताको आधारमा भन्सारबाट धरौटीमा छुटाइएका सम्पूर्ण मेलामा चाहिने स्टल निर्माण तथा प्रचारप्रसार सामग्री लामो समयदेखि नेपालमा सरकारी जग्गा प्रयोग गरेर राखिएको थियो। सरकारले आफ्नै जग्गा प्रयोग गर्न दिएर भारतीय अवैध काम गर्नेलाई सहयोग गरेको समेत आरोप सरोकारवालाको छ।
गत साउन १ गतेदेखि नेपाल सरकारले नेपालमा विदेशी कामदारहरुलाई समेत श्रममा लगाउँदा सम्बन्धित कम्पनी तथा फर्मले श्रम स्वीकृति लिई प्यान कार्ड लिन अनिवार्य गरेकोे छ। उक्त व्यवस्थाको समेत धज्जी उडाउँदै सो मेलामा सहभागी हुने भारतीय कम्पनीका विज्ञापन एजेन्सीले भारतबाटै कामदार ल्याई स्टल निर्माणमा परिचालन गरेका छन्।
कामदारका लागि प्यान कार्डसहित बैंकबाट भुक्तानी अनिवार्य भएपनि कम्पनीले अहिलेसम्म यस्तो नियम पालना गरेको देखिँदैन।
अर्कोतर्फ सामाजिक सञ्जालको प्रचार प्रसारमा तथा वेबसाईटमा नेपालमा दर्ता भएको इनो आइएनडीको सम्पर्क ठेगानामा समेत भारतीय नम्बर तथा स्थान उल्लेख छ। भारतमा रहेका कम्पनी नेपालमा आउँदा प्रत्यक्ष वैदेशिक लगानी कानुनअनुसार आउनुपर्छ। घिमिरेले दर्ता गरेको कम्पनीको सम्पर्क नम्बर भारतीय भएकाले पनि उनको नेपालमा गरेको लगानीका विषयमा प्रश्न उठेको छ।
विकास सबै दलका साझा एजेण्डा बन्नुपर्छ : पाेखरेल
रक्षामन्त्री ईश्वर पोख्रेलले विकास निर्माण सबै राजनीतिक दलको साझा एजेण्डा बन्नु पर्ने बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको २१ औं साधारण सभा तथा नेपाल बिल्ड टेक एक्स्पो २०२० उद्घाटन गर्दै पोख्रेलले भौतिक पूर्वाधारको निर्माणविना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने बताए।
समृद्ध मुलुक निर्माणका लागि निर्माण व्यवसायीसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको पनि पोख्रेलले स्पष्ट पारे। 'निर्माण व्यवसायीले भने झै सरकारले निर्माण उद्योगमैत्री ऐन नियम ल्याइरहेको छ, अब निर्माण व्यवसायीले पनि इमान्दारीपूवर्क काम गर्नुपर्छ', पोख्रेलले भने।
उनले समयमै निर्माण पूरा नहुँदा सबैलाई घाटा पुग्ने पोख्रेलले यसतर्फ सजग हुन व्यवसायीलाई आग्रह गरे। निर्माण कार्यमा लापरवाही गर्नेलाई कारबाही गर्न सरकार बाध्य हुनेसमेत उनले बाए। नेपाली निर्माण व्यवसायीहरु अब आफ्नो योग्यता तथा क्षमतासहित श्रेष्ठता प्रमाणित गर्दै अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने उनकाे भनाइ थियो ।
महासंघका मानार्थ सदस्यसमेत रहेका सांसद जीप छिरिङ लामा शेर्पाले निर्माण कार्य समयमा नै पूरा नहुनुमा निर्माण व्यवसायीको मात्र दोष नरहने भन्दै समयमा नै भुक्तानी नहुँदा व्यवसायीलाई धेरै असहज भएको बताउनुभयो । सांसद बहादुरसिंह लामाले निर्माण क्षेत्रमा गहन अनुसन्धान आवश्यक रहेको भन्दै व्यवसायीले मोबिलाइजेशन खर्चको दुरुपयोग नगरेको दाबी गरे।
निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले म्याद थप तथा बैंक क्रेटिड लाइनको समस्या समाधान भएपनि व्यवसायीहरु अरु धेरै समस्या खेप्न बाध्य भएको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । “निर्माण व्यवसाय चलायमान नहुँदा दशेको अर्थतन्त्रमा नै समस्या आउने भएकाले निर्माण व्यवसायीका जायज माग पूरा गर्नुको विकल्प सरकारसँग छैन” अध्यक्ष सिंहले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले नेपालका व्यवसायीले विविध चुनौतीका बाबजुद उत्कृष्ट काम गरिरहेको बताए। त्यसअवसरमा महासंघका तर्फबाट प्रदेश सभासदमा विजयी कृष्णलाल भँडेल र इफाप्का अध्यक्ष मोहमदलाई अली जनाहलाई सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।