सोल- दक्षिण कोरियाका लागि श्रम सहचारी डिल्लीराम बाँस्तोलालाई सरकारले काठमाण्डौं महानगरपालिकामा सरुवा गरेको छ।
सन् २०१७ को डिसेम्बरमा श्रम सहचारीको जिम्मेवारीमा कोरिया आएका बाँस्तोला दुई वर्षे कार्यकाल पूरा गरी नेपाल फर्कन लागेका हुन्।
श्रम कन्सुलरको जिम्मेवारी पूरा गरी फर्कन लागेका बाँस्तोलाले कार्यरत नेपाली श्रमिकका जटिल समस्याहरुको न्यूनीकरणमा कार्यरत समयमा उच्चतम प्रयास गरेको नेपाल लाइभसँग बताए।
कोरियाले १६ देशबाट कामदार भित्र्याउँदै आएको छ। ती देशहरुमध्ये सञ्चयकोषको व्यवस्था ६ देशका कामदारले मात्रै प्राप्त गर्दै आएका छन्। नेपालली कामदारले सञ्चयकोष प्राप्त गर्ने प्रावधान छैन।
६ देशका कामदारले प्राप्त गर्ने कुकमिन बोहम (सञ्चयकोष) को सुविधाबाट नेपाली कामदारहरु वञ्चित भएकोतर्फ ध्यानाकार्षण भएको बाँस्तोलाले बताए। दुई देशका सरकारबीच समझदारी भए नेपाली कामदारले समेत उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।
नेपालमा कार्यरत कोरियाली नागरिकहरुलाई समेत नेपाल सरकारले सञ्चयकोषको व्यवस्था गरे नेपाली कामदारले समेत उक्त सुविधा पाउने गरी एमओयु हुन सक्ने बाँस्तोलाको बुझाइ छ।
रोजगारीका लागि आकर्षक गन्तव्यको रुपमा परिचित दक्षिण कोरियामा ईपियस प्रणाली र अन्य भिषामा गरी करीब ५० हजारको संख्यामा नेपालीहरु कार्यरत छन्।
यहाँ कार्यरत सबै नेपाली श्रमिकका समस्या तथा गुनासा सुन्ने र समाधानका लागि पहल गर्न नेपाल सरकारले खटाएका एकमात्र श्रम कन्सुलरका रुपमा बाँस्तोला थिए। फिलिपिन्स, बंगलादेशलगायतका देशले आफ्ना कामदारको समस्या समाधान गर्न छुट्टै कार्यालय स्थापना गरी कन्सुलरको व्यवस्था गरेका छन्। नेपाली कामदारका समस्या समाधानका लागि दूतावासबाटै सेवा दिने गरी एक व्यक्तिलाई जिम्मेवारी तोकिएको हुन्छ।
कोरियामा श्रम सहचारी भई जानुअघि बाँस्तोला ईपिएस कार्यालय नेपालको निर्देशक समेत थिए।
३७ वर्षे निजामति सेवा पुर्याएका बाँस्तोलाले नेपाल सरकारबाट प्रदान गरिने ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार’ प्राप्त गरेका थिए। नेपाली श्रमिकका समस्या समाधानमा विशेष क्षमता प्रदर्शन गरेवापत उनीलाई कोरिया सरकारबाट ‘बेस्ट प्राक्टिस आउटस्ट्याण्डिङ अवार्ड’ प्रदान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।