आबुधाबी– कतारमा घरेलु कामदारका रुपमा पुगेका श्रमिकहरुले काम गर्न असहज भएमा वा स्वदेश फर्किनुपर्ने आपतकालीन अवस्था भएमा सजिलै फर्कन पाउने भएका छन्।
यसअघि एक्जिट पर्मिट चाहिने भएकाले आप्रवासीलाई स्वदेश फर्कन निकै ठूलो समस्या थियो। अझ सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि स्टेडियम निर्माण भइरहेको अवस्थामा थुप्रै श्रमिकहरु रोजगारदाताबाट शोषणमा परेका थिए। कतिपय कामदार स्वदेश फर्कन चाहे पनि रोजगारदाताले जबर्जस्ती काम गर्न बाध्य पारेका थिए।
कतारले बिहीबार घरेलु कामदारका रुपमा कार्यरत आप्रवासीलाई पूर्ण रुपमा वा आपतकालीन अवस्थामा कतार छोड्न चाहेमा एक्जिट पर्मिट खारेज भएको क्षेत्र थप गरेको छ । यो व्यवस्थासँगै कुनै कारणवश स्वदेश फर्कन चाहेमा ३ दिनअगाडि नै श्रमिकले रोजगारदातालाई जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ।
यो प्रावधानले हजारौँको संख्यामा आप्रवासी कामदारलाई फाइदा पुग्ने भएको छ । खासगरी कतारमा नेपाल, भारत, फिलिपिन्सलगायत मुलुकका कामदार ठूलो संख्यामा कार्यरत छन्। सन् २०२२ विश्वकपले देशको अर्थतन्त्र विकासलाई टेवा पु¥याउने आशा राखेर कतारले सबै आप्रवासी श्रमिकका हकअधिकार सुनिश्चित गर्न तयार रहेको उल्लेख गरेको छ।
सन्२०१८ मा पनि कतारले धेरै आप्रवासी कामदाका लागि एक्जिट पर्मिट हटाएको थियो । तर यसले घरेलु कामदार, सरकारी र सार्वजनिक संस्थानका कर्मचारी, तेल र ग्यास क्षेत्रमा कार्यरत कामदार तथा समुद्र र कृषि क्षेत्रमा कार्यरत कामदारलाई छुन सकेको थिएन । नयाँ व्यवस्थापछि पनि सशस्त्र सेनाका सदस्यलगायत ठूला पदका कर्मचारीका लागि एक्जिट पर्मिट आवश्यक पर्ने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।