काठमाडौं- सरकारले जनकपुर–जयनगर रुटमा रेल चलाउनका लागि लिकको मर्मत कार्यलाई तीव्रता दिएकाे छ।
उक्त रुटमा चलाउने रेल भारतमा निर्माणधिन अवस्थामा छ। निर्माणधिन रेल माघ तेस्रो सातासम्ममा नेपाल आइपुग्ने अनुमान गरिएको छ।
गत वर्षको पुसदेखि नै रेल चलाउने घोषणा गरेको सरकारले रेलको लिक बनाउने कार्य भने अझै सम्पन्न गरेको छैन। अघिल्लो वर्ष कमला नदीको बाँध फुटेर रेलमार्गमा क्षति पुगेको थियो। रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको छ।
कुर्ता–जनकपुर–जयनगर रेलमार्गको पुरानो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ। भारतीय निर्माण कम्पनीमार्फत् नै यो काम गरिको हो। सन् २०१४ देखि लिक विस्तार सुरु भएयता जनकपुर–जयनगर रेल सेवा विगत ५ वर्षदेखि बन्द रहेको छ।
सरकारले केही समयअघि जयनगर–बर्दिवास रेललाइन निर्माणका लागि आयात गरिने विभिन्न सामानमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो। रेललाइनका लागि आवश्यक पर्ने विजलपुरा स्टेशनमा स्टाफ क्वाटर्स, स्टेशन बिउल्डिङ, प्लेटफर्म आदिका लागि चाहिने ३ लाख ८५ हजार भारतीय रुपैयाँ बराबरको सामानमा लाग्ने भन्सार छुट दिएको हो। सरकारले रेललाइन निर्माणका सामग्री आयातकर्ता कम्पनी एम-एस जेके मिश्रा भगलपुर बिहारलाई कर तथा महसुल छुट दिएको हो।
नेपालमा चल्ने रेल माघको तेस्रो साताभित्रै आइपुग्ने रेल विभागले जनाएको छ। रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेशनसँग रेल किन्ने सम्झौता गरेको थियो। पाँचवटा डिब्बासहितका यी रेलमा एकैपटक १२ सय यात्रुले यात्रा गर्न सक्छन्।
विभागका महानिर्देशक बलराम मिश्रले अबको एक सातामा भारतबाट नेपालका लागि रेल हिँड्ने बताए। ‘भारतबाट हिँडेपछि मात्र रेल नेपाल कहिले आइपुग्छ भन्न सकिन्छ,’ मिश्रले भने, ‘माघको तेस्रो सातासम्ममा रेल नेपाल आइपुग्ने अनुमान गर्न सकन्छि।’ रेल नेपाल ल्याएको एक महिनापछि सञ्चालनमा ल्याउने योजनामा रेल विभागकाे रहेको उनको भनाइ छ।
सरकारले २ सय कर्मचारीको दरबन्दी थपेर निष्क्रिय रहेको रेलवे कम्पनीलाई ब्यूँताई रेल सञ्चालनको जिम्मा दिन लागेको हो। त्यसका लागि कर्मचारीको दरबन्दीलगायत आवश्यक तयारी भइरहेको विभागले जनाएको छ। त्यस्तै सरकराले रेल विधेयक राष्ट्रयसभासा समेत पेश गरेको छ।
फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।