राजविराज– सप्तरीमा सरकारी कार्यालयले नै विद्युत् महसुल बुझाउन अटेर गर्ने गरेकाे पाइएकाे छ।
राजविराज नगरपालिका, सप्तरी कारागार, जिल्ला समन्वय समतिलगायतका कार्यालयले विद्युत् महसुलबापतको लाखौं रुपैयाँ बुझाउन बाँकी छ। विद्युत् उपयोग गरे बापतको शुल्क नबुझाउने प्रवृत्तिले बक्यौता रकम २६ करोडभन्दा माथि पुगेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ।
केन्द्रका अनुसार सडक बत्ती, गेष्ट हाउस र कार्यालयको खपत गरी राजविराज नगरपालिकाले मात्रै कुल १ करोड ३७ लाख २३ हजार ६ रुपैयाँ १६ पैसा बक्यौता बुझाउन बाकी छ। सडक बत्तीको १ करोड १९ लाख १६ हजार ३८३ रुपैयाँ ९८ पैसा, राजविराज गेष्ट हाउसको ४ लाख २ हजार ९ सय ७ रुपैयाँ ४६ पैसा र कार्यालयको १४ लाख ३ हजार ७१४ रुपैयाँ ७२ पैसा असुल हुन बाकी रहेको इन्जिनियर आमोदकुमार यादवले जानकारी दिए।
राजविराज कारागारले ८ लाख ८५ हजार १ सय ७७ रुपैयाँ ३२ पैसा बुझाउन बाँकी छ। दुईवटा मिटर मध्ये एउटाको ५ लाख ३७ हजार २ सय ६ रुपैयाँ ८२ पैसा र अर्काेकाे ३ लाख ४७ हजार ९ सय ७० रुपैयाँ ५० पैसा बक्यौता रहेको इन्जिनियर यादवले बताए।
यसैगरी, जिल्ला समन्वय समितिसँग ७ लाख ५० हजार ७ सय २४ रुपैयाँ ९८ पैसा, एसपी क्वाटरको ७६ हजार ९ सय ६६ रुपैयाँ ७३ पैसा तथा मावि लौनियाँ तिलाठिमा ३ लाख ७९ हजार २ सय २७ रुपैयाँ बक्यौता बाँकी छ। योसँगै वोदेवरसाईन र राजविराज वितरण केन्द्रमार्फत् कूल २६ करोड ४ लाख १३ हजार रुपैयाँ बक्यौता असुल हुन बाँकी रहेको राजविराज वितरण केन्द्रले जनाएको छ।
बक्यौता बढ्दै गएपछि केन्द्रले गत साउनदेखि मंसिरसम्म ४ सय ग्राहकको विद्युत् लाइन काटेर १ करोभन्दा बढी बक्यौता असुल गरेको छ। यस बीचमा विभिन्न तरिकाले विद्युत् चोरी गर्ने ३ सय ७३ जनालाई कारवाही गरी २१ लाख रुपैयाँभन्दा बढी रकम असुली गरिएको छ। साउनदेखि मंसिर अन्त्यसम्ममा मिटर बाइपास गर्ने २ सय जना र हुकिङ्ग गर्ने १७३ जनालाई पक्राउ गरी कारवाही गरिएको इन्जिनियर यादवले बताए।
कार्यालयले कडाइ गर्न थालेपछि चुहावटको प्रतिशत पनि उल्लेख्य रुपमा घटाइएको यादवको दाबी छ। सप्तरीमा हाल २२ दशमलव ७३ प्रतिशत मात्रै चुहावट रहेको उनले जानकारी दिए।
गत वर्ष आव ०७५/०७६ काे सुरुवातसम्म ५२ दशमलव ६ प्रतिशत रहेको चुहावटलाई १० महिनामा ३९ दशमलव ९ प्रतिशतमा झारिएको थियो।
विद्युत् चुहावटकै कारण दुई वर्षअघिसम्म मुलुकमै सबैभन्दा बढी लोडसेडिङ्ग हुँदै आएको सप्तरीमा घरायसी प्रयोजनदेखि खेती, उद्योगधन्दा संचालनलगायतका काममा पनि विद्युत् चुहावट हुने गरेको थियो। चुहावट बढेपछि हाल टोली परिचालन गरी हुकिङ्ग थुत्ने, व्यक्ति र उपकरण नियन्त्रण गर्ने, जरिवाना गर्नेलगायतका प्रक्रिया सुरु गरीएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।