काठमाडौं- ब्रिगसन ब्रान्डका इलेक्ट्रिक बस नेपालमै उत्पादन गर्ने योजना हिमालय मोटरक्सले तय गरेको छ।
कम्पनीले बुधबार नेपाली बजारमा ब्रिगसन ब्रान्डको औपचारिक सार्वजनिक गरेको हो। सोही क्रममा कम्पनीले सन् २०२५ सम्ममा नेपालमै एसेम्बल प्लान्ट स्थापना गरिसक्ने बताएको छ।
नेपाली बजारमा विगत २८ वर्षदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय व्यवसाय गर्दै आएको हिमालयन अर्गनाइजेसन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले बिक्री गर्ने उक्त ब्रान्डको उत्पादन यूनिट पनि सोही कम्पनीले लगाउने छ। ब्रिगसनका इलेक्ट्रिक सवारीले विश्व रेकर्ड बनाउन सफल छ।
‘सुरुमा हामी भारतमा बनेका इलेक्ट्रिक बस र माइक्रोबस ल्याएर बिक्री गर्ने र केही समयपछि नेपालमै एसेम्बल सुरु गर्ने योजना रहेको छ,’ कम्पनीका प्रवन्ध निर्देशक ध्रुवबहालुर थापाले भने।
कम्पनीले सन् २०१५ मा एक पटकको फुल चार्जमा १०१८ किलोमिटर चल्ने बस बनाएर विश्व कीर्तिमान बनाएको थियो। अस्ट्रेलियाली प्रविधिमा तयार भएका यी बसको ब्याट्रीमा २० वर्षको ग्यारेन्टी छ।
यी बसमा प्रयोग भएको ब्याट्रीलाई चार्ज गर्न ४ देखि ८ घन्टा लाग्ने छ। ब्रिगसनले आगामी मे महिनादेखि भारतीय बजारमा इलेक्ट्रिक बस र माइक्रोबस उत्पादन सुरु गर्ने जनाएको छ।
नेपाली बजारमा पनि भारतमा बनेका इलेक्ट्रिक बस र माइक्रोबस बिक्री वितरण हुने छन्।
सुरुमा ब्रिगसनका १५ सिटका माइक्रोबसदेखि ४२ सिटसम्मका बस नेपाल आउने छन् भने त्यसको केही समयपछि प्यासेन्जर कार समेत ल्याउने कम्पनीले जनाएको छ। ब्रिगसनका बसले एक पटक फुल चार्ज गर्दा १ हजार किलोमिटरभन्दा बढी माइलेज दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।