काठमाडौं- आफ्नो सवारी साधन आरुलाई दिने व्यवसायीको वार्षिक कारोबार २० लाख रुपैयाँभन्दा धेरै भएमा अब ऊ पनि मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने भएको छ। आन्तरिक राजस्व विभागले ढुवानीमा भ्याटसम्बन्धी निर्देशिका जारी गर्दै भाडामा लिने व्यक्तिले दर्ता हुनुपर्ने सीमाभन्दा धेरैको कारोबार गरेमा पनि भ्यटको दायरामा बस्नुपर्ने व्यवस्था गरेको छ।
'ढुवानीका साधन व्यावसायिकरुपमा आफैँले सञ्चालन नगरी सम्झौता गरी अन्य व्यक्ति वा संस्थालाई भाडामा प्रयोग गर्न दिइएको अवस्थामा त्यस्तो भाडाबाट विगत १२ महिनाको अवधिमा २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएमा भाडामा दिने व्यक्ति मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्नेछ,' निर्देशिकामा भनिएको छ, 'भाडामा लिने व्यक्तिले दर्ता हुनुपर्ने सीमाभन्दा धेरैको कारोबार गरेमा दर्ता हुनुपर्नेछ।'
कार्यविधिमा ढुवानीको साधनबाट मालवस्तु ओसारपसार कार्यमा प्रत्यक्ष संलग्न कुनै व्यक्तिको वार्गिक कारोबार २० लाख रुपैयाँ नाघ्ने अनुमान गर्न सकिने अवस्था भएमा त्यस्तो अवस्था खुलाई दर्ता हुनुपर्ने उल्लेख गरिएको छ। यसरी अनुमान गर्न सकिने अवस्था नभै कसैले दरेको कारोबार २० लाख रुपैयाँ नाघ्न गएमा त्यसरी नाघेको ३० दिनभित्रमा दर्ता गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।
नेपालमा भ्याटमा दर्ता भएको ढुवानी व्यवसायीले नेपाली आयातकर्ताको तर्फबाट विदेशी भूमिदेखि आयातकर्ताको कारोबारस्थलसम्म नै ढुवानी कार्यको संयोजन र ढुवानी गरिदिने भएमा नेपालको भन्सार विन्दूदेखि आयातकर्ताको कारोबारस्थलसम्म गरिने ढुवानी सेवा बापतको रकम र विदेशी भूमिका ढुवानी कार्यको व्यवस्थापन गरिदिएबापत लिने सेवा शुल्कको रकममा मूल्य अभिवृद्धि कर असूल गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।
नेपालमा दर्ता भएको फ्रेट फर्वाडर तथा कार्गो व्यवसायीले नेपाली आयातकर्ताको प्रतिनिधि भइ विदेशी भूमिदेखि आयातकर्ताको कारोबारस्थलसम्म नै ढुवानी कार्यको संयोजन र ढुवानी गरिदिदे भएमा नेपालको भन्सार विन्दूदेखि आयातकर्ताको कारोबारस्थलसम्म ढुवानी सेवा उपलब्ध गराएबापत लिइने रकम वा सेवा शुल्क तथा विदेशमा सेवा दिएबापत लिइने सेवा शुल्कमा मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेछ।
भ्याटमा दर्ता भएका त्यस्ता व्यवसयीले आयकर ऐनको व्यवस्थाअनुसार पुस, चैत र असार मसान्तमा तीन किस्तामा आयकर बुझाउनुपर्ने पनि निर्देशिकामा उल्लेख छ।
सरकारले चालु आर्थिक वर्षदेखि ढुवानी व्यवसायलाई भ्याटमा दर्ता अनिवार्य गरेको थियो। यसको व्यवसायीले विरोध गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।