काठमाडौं- अर्थ मन्त्रालयले पुस मसान्तका लागि निर्धारण गरेको राजस्वको लक्ष्य पुरा भएको जनाएको छ।
पुसका लागि १ खर्ब ३५ अर्ब ३३ करोड रुपैयाँ राजस्व लक्ष्य निर्धारण भएकोमा १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ संकलन भएको अर्थले जनाएको छ।
तर सरकारी हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गर्ने तथ्यांकले भने त्यस्तो देखाउँदैन। कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा पुस मसान्तसम्ममा ४ खर्ब ३३ अर्ब १५ करोड ४१ लाख रुपैयाँ राजस्व संकलन भएको उल्लेख छ।
अर्थ मन्त्रालयले अर्थ बुलेटिन पुसमा मंसिर मसान्तसम्ममा ३ खर्ब ८८ अर्ब ६२ करोड रुपैयाँ संकलन भएको जनाएको छ।
पुसमा १ खर्ब ३७ अर्ब ५० करोड उठेको उसको तथ्यांकअनुसार कूल राजस्व ४ खर्ब ५६ अर्ब १२ करोड उठ्नुपर्ने हो।
'यो विषयमा अर्थ मन्त्रालयले पनि हामीलाई सोधेको छ, हामी कहाँ के भएको रहेछ हेर्छौँ,' सहमहालेखा नियन्त्रक रमेशप्रसाद शिवाकोटीले भने।
पुस मसान्तसम्ममा सरकारले जम्मा ३९.२८ प्रतिशत बजेट खर्च गरेको छ। वार्षिक विनियोजन १५ खर्ब ३२ अर्ब रुपैयाँमध्ये अहिलेसम्म ३ खर्ब ९५ अर्ब रुपैयाँ बजेट खर्च भएको छ।
यसमध्ये चालु खर्च ३ खर्ब ९ अर्ब र पुँजीगत खर्च ५८ अर्ब ३९ करोड रुपैयाँ रहेको छ।
केही बाहेक अधिकांश पुराना कार्यक्रमलाई निरन्तरता दिएर बजेट ल्याइएको भए पनि अपेक्षित खर्च भने हुन सकेको छैन।
पुँजीगत खर्चतर्फ सरकारले पुस मसान्तमा गरेको खर्च भनेको कूल रकमको १३.७२ प्रतिशत हो। चालु आर्थिक वर्षमा सरकारले ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेको छ।
वित्तीय व्यवस्थातर्फ सरकारले २७ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको छ। यो रकम कूल विनियोजन १ खर्ब ६७ अर्ब रुपैयाँको १६.५० प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।