काठमाडौं- कालीमाटी तरकारी तथा फलफूल बजारमा आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा अत्याधिक भेटिन थालेपछि परीक्षणमा कडाइ गरिएको छ।
विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले हरेक दिन तरकारी तथा फलफूलमा रहेको विषादी परीक्षण गर्छ। विषादी परीक्षणको रिपोर्ट भने तरकारी अधिकांशको भान्छामा पुगिसकेपछि आउने गरेको पाइएको छ। कालिमाटीमा हरेक दिन बिहान ३ बजेदेखि नै तरकारीको व्यापार सुरु भइसकेको हुन्छ। बिहान ६ बजेसम्म त होलसेल व्यापार लगभग सुनसानजस्तै बनिसकेको हुन्छ। त्यतिन्जेलसम्म खुद्रा व्यापारीले आफ्नो पसलमा तरकारी बेच्न पुर्याइसकेका हुन्छन्।
अधिकांश काठमाडौंबासीका भान्छामा बिहान ८ बजेदेखि ९ बजे सम्म खाना नै पाकिसकेको हुन्छ।
बजारको तरकारी भान्छामा पुगेर पाकिसकेपछि बल्ल विषादी परीक्षणको रिपोर्ट आइपुग्छ। रिपोर्ट आइसकेपछि मात्रै खानयोग्य तरकारी उपभोक्तासम्म पुर्याइनुपर्नेमा रिपोर्ट आउनुअगावै भान्छामा तरकारी पुगिसक्नु आम उपभोक्ताको स्वास्थ्यमाथिको खेलबाड भएको उपभोक्ता अधिकारवादीहहरु बताउँछन्।
तर कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल भने पछिल्लो समय कालीमाटी बजारमा आउने तरकारीमा विषादीजन्य पदार्थको मात्रा कम हुन थालेकाले उपभोक्तासम्म खानै नमिल्ने तरकारी पुग्ने सम्भावना नरहेको दाबी गर्छन्।
‘अहिले बजारमा खतरनाक विषादी प्रयोग गरिएका तरकारी आएका छैनन्। विषादी परीक्षणको रिपोर्ट पनि समितिमार्फत लियो भने अलि छिटो आइपुग्छ। प्रयोगशालामै गएर ल्याउँदामात्रै ढिलाइ हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले नेपाल लाईभसँग भने।
उनका अनुसार बिहान ५ बजे तरकारीको विषादी परीक्षण गरेपछि समितिमार्फत् रिपोर्ट लिन एक–डेड घण्टा लाग्छ। त्यो रिपोर्ट आउन लाग्ने समयसम्म खुद्रा बजारमा तरकारी पुगिसकेको हुन्छ। अझ प्रयोगशाला पुगेर रिपोर्ट ल्याउने समयसम्म भान्छामा तरकारी पाकिसक्ने गरेको पाइएको हो।
सरकारले काठमाडौंको कालीमाटीमा तरकारी तथा फलफलूमा विषादीको प्रयोग परीक्षण गर्न २०७१ सालदेखि प्रयोगशाला राखेको छ। अहिले देशका विभिन्न ७ वटा स्थानमा यस्ता खालका प्रयोगशाला राखिएका छन् । यी प्रयोगशालाले समग्र तरकारी आपूर्ति हुने क्षेत्रलाई समेट्न नसकेपछि नाकामै विषादी परीक्षण केन्द्र राख्ने तयारी भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।