काठमाडौं- नाडाको प्रतिनिधिमण्डल र आन्तरिक राजस्व विभागबीच छलफल भएको छ।
आइतबार नाडा अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यीय नाडा प्रतिनिधि मण्डलले विभागका महानिर्देशक विनोदबहादुर कुँवरसँग भेटी फेयर ट्रेडलगायत नेपालको कर प्रशासन र कर प्रणालीबारे विस्तृत छलफल गरेको हो। छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको हिमायति रहँदै आएकोले त्यसको प्रवर्द्धनका लागि तत्पर रहने बताए।
सोही क्रममा उनले कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनको प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो गरे। काला बजारीको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दै आएको नेपालले बजारको माग र आपूर्तिका आधारमा वस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई स्वतः अंगिकार गर्नुपर्ने जिकिर उनको थियो।
छलफलका क्रममा विभागका महानिर्देशक कुँवरले व्यावसायिक क्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवर्द्धनका लागि सुझाव आउनु स्वागतयोग्य रहेको भन्दै आपसी सूचना आदानप्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवर्द्धनमा देखिएका समस्याहरुको निराकरण गर्दै जानुपर्ने धारणा राखे।
स्वच्छ कर प्रशासन निर्माणमा व्यवसायीहरुको ठूलाे भूमिका हुने भन्दै व्यवसायको सहजीकरणका लागि विभाग सदैव तयार रहेको कुँवरले बताए। वैधानिक तवरबाट व्यापार व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने बताउँदै अब नयाँ आर्थिक ऐन आएपछि नाडासँग पुनः औपचारिक रुपमा छलफल गर्ने आश्वासन उनले दिए।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्यसमिति सदस्य अभिक ज्योति, मिलनबाबु मल्ल, र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।