काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र पूर्व श्रममन्त्रीहरूसँग भेटघाट गरी सुझाव लिएका छन्।
२०४७ यताका १७ जना पूर्व श्रममन्त्रीलाई मन्त्री यादवले भेटवार्ताका लागि निम्तो दिए पनि ३ जना पूर्व श्रममन्त्री मात्रै उपस्थिति थिए। उपस्थित हुनेहरुमा मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी थिए।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिनापछि मन्त्री यादवले पूर्व मन्त्रीहरुसँग भेटवार्ता गरेका हुन्।
मन्त्री यादवले पूर्व मन्त्रीहरुबाट सुझाव लिए भने पूर्व मन्त्रीहरुले मन्त्री यादवसँग अनुभव साटेका थिए।
मन्त्री यादवले पूर्वमन्त्रीहरुसँग मन्त्रालयहरुको आगामी रणनीति र योजनाबारे सुझाव मागेका थिए।
मंगलबार एक महिने कार्य प्रगति तथा आगामी तीन महिने योजना सार्वजनिक गरेका मन्त्री यादवले पूर्व मन्त्रीहरुको अनुभव र सुझावलाई लिएर आफू अघि बढ्ने बताए।
'समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको बताए।
उनले नेपाली कामदार गन्तव्य रहेका देशमा सुरक्षित वातावरण बनाउने र यो सरकारको लक्ष्य देशमै रोजगारीको सृजना गर्ने रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।