काठमाडौं- पिकअप सेगमेन्टका सवारी साधनको प्रयोग बढ्दै गइरहेको छ। विभिन्न कम्पनीले सिंगल तथा डबल क्याब पिकअप उपभोक्ताका मागअनुसार उपलब्ध गराइरहेका छन्। सिंगल क्याब पिकअप व्यवसायिक प्रयोजनमा र डबल क्याब पिकअप निजी प्रयोजनमा प्रयोग हुने गरेका छन्। सवारीको वर्गीकरण अनुसार पिकअप गाडी लाइट कमर्सियल भेइकल (एलसिभी) वर्गमा पर्छन्।
२०१९ को अप्रिलदेखि नोभेम्बरसम्मको अवधिमा नेपाली बजारमा विभिन्न कम्पनीका पिकअप भित्रिएका छन्। यहाँ एलसिभी सेगमेन्ट अन्तर्गत १ टनभन्दा कम तौल भएका, १ देखि १.२५ टनसम्मका, १.२५ देखि १.५ टनसम्मका, डिसी ४x२, डिसी ४x४, र एससी ४x४ सम्मका पिकअपको तथ्यांक समावेश गरिएको छ।
८ महिनाको अवधिमा अशोक लेल्यान्डको १ सय ९५ वटा पिकअप नेपाल भित्रिएका छन्। यसमा विभिन्न क्षमताका 'डोस' रहेका छन्। नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आइएमई मोटर्सले पिकअप सेगमेन्टका गाडीलाई प्राथमिकता दिएको छ।
त्यस्तै, महिन्द्राको सुप्रो, म्याक्सिमो २ सय ७६ वटा भित्रिँदा बोलेरो र स्कर्पियो भने २ हजार ६० वटा भित्रिएको भन्सारको तथ्यांक छ। महिन्द्राका सवारी म्याक्सिमो र सुप्रो नेपालमा दुगर्ड ब्रदर्स एन्ड सन्सले बिक्री गर्दै आएको छ भने स्कर्पियो र बोलेरो अग्नि इन्कर्पोरेटेडले बिक्री गर्दै आएको छ।
स्कर्पियो निजी प्रयोजनका लागि बढी प्रयोग हुँदै आएको सवारी हो। स्पर्कियो पिकअप तथा एसयुभी दुवै सेगमेन्टमा उपलब्ध छ। त्यस्तै बोलेरो नेपालका अधिकांश ग्रामीण भूभागमा यात्रुबाहक गाडीका रूपमा प्रयोग हुँदै आएको छ।
टाटा मोटर्सको एस, सुपर एस, योधा तथा जेनोन गरी ८ महिनामा १ हजार ४ सय ४८ वटा भित्रिएका छन्। टाटाको विङ्गर मिनी-भ्यानलगायत सवारी भने यसमा समावेश गरिएको छैन। टाटा एस, सुपर एस, योधा व्यापारिक प्रयोजनका लागि तथा जेनोन निजी प्रयोजनमा बढी प्रयोग हुँदै आएको छ। टाटाका गाडी नेपाली बजारमा सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ।
मारुती सुजुकीको पिकअप सेगमेन्टमा सुपर क्यारी पिकअप छ। ८ महिनामा मारुती सुजुकी सुपर क्यारी ५८ वटा भित्रिएको तथ्यांक छ। व्यवसायिक प्रयोजनमा प्रयोग हुने सुजुकी सुपर क्यारी गाडी नेपाली बजारमा सिजी मोटोकर्पले बिक्री गर्दै आएको छ।
टोयोटाको पिकअप हाइलक्स भने ८ महिनामा १ सय २३ वटा भित्रिएका छन्। एलसिभी सेगमेन्टमै हुने हायस माइक्रोबस भने यसमा समावेश छैन। नेपालमा युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिक्री गर्दै आएको टोयोटा हाइलक्स प्यासेन्जर सवारीकै रूपमा प्रयोग भइसकेको छ। यो गाडी परियोजनाहरुमा लोकप्रिय छ।
इसुजुका पिकअप ४ सय ७६ वटा भित्रिएको तथ्यांक छ। इसुजुका डिम्याक्स, १ टन र २ टन क्षमताका पिकअप, डबल क्याब तथा एस-क्याब एचआर क्र्यू क्याब पिकपअ नेपाली बजारमा उपलब्ध छन्। पछिल्लो दुई वर्षमा नेपाली बजारमा इसुजुका पिकअप लोकप्रिय बन्न सफल भएको कम्पनीको दाबी छ। कन्टिनेन्टल ट्रेडिङले बिक्री गर्दै आएको इसुजुका पिकअप व्यवसायिक प्रयोजनमा समेत उपलब्ध हुन थालेका छन्।
चिनियाँ कम्पनी फोटोनका १०, अमेरिकी कम्पनी फोर्डका १६, जापानी कम्पनी निसानका १८, मित्सुबिसीका १० वटा पिकअप नेपाली बजारमा भित्रिएका छन्। यो तथ्यांक २०१९ को अप्रिलदेखि नोभेम्बरसम्म (८ महिना) मा भन्सारबाट भित्रिएका सवारीको तथ्यांक हो। अर्को चिनियाँ कम्पनी डोङफेङले समेत नेपाली बजारमा पिकअप भित्र्याएको छ। डोङफेङको रिच पिकअप ३ वटा भित्रिएको तथ्यांक छ।
के हो पिकअप?
सवारी साधनको बनोट र त्यसमा भएको सुविधाअनुसार उपयोग फरक किसिमले गरिन्छ। सबै सेगमेन्टका सवारीका आ–आफ्नै विशेषता हुन्छन्। सवारीका सेगमेन्टमध्येको एउटा हो पिकअप। पिकअपलाई ‘स्मल ट्रक’ पनि भनिन्छ। पिकअप सेगमेन्टका गाडीलाई लाइट कमर्सियल भेइकलको रूपमा लिइन्छ।
पिकअप ‘ट्रक डिजाइन’को फ्रेममा निर्माण गरिएको ‘स्मल कमर्सियल भेइकल’ हो। यो सवारीमा सामान राख्नको लागि पछाडि ओपन ट्रेलर हुन्छ। यो डिजाइनमा निर्माण गरिएका सवारीलाई पिकअप क्याटागोरीमा राखिन्छ।
अन्य देशहरूमा समेत यो सेगमेन्टका गाडीलाई स्मल ट्रककै रूपमा लिइन्छ। पिकअप साना तथा मझौला खालका हुन्छन्। मुख्य गरी पिकअपलाई स्मल कमर्सियल भेइकल (एससिभी) तथा लाइट कमर्सियल भेइकल (एलसिभी) र सुपर लक्जरी मल्टी युटिलिटी पिकअपमा वर्गीकरण गरिएको छ। एससिभी र एलसिभी क्याटागोरीमा टाटाको सुपर एस, अशोक लेल्यान्डको डोसलगायत पर्छन् भने सुपर लक्जरीमा टोयोटाको हाइलक्स, निसानको नभारा, फोर्डको रेन्जरलगायत पर्छन्।
एससिभी र एलसिभी क्याटागोरीको पिकअप कमर्सियल प्रयोजनमा नै बढी प्रयोग हुने गरेका छन्। काठमाडौंजस्तो साँघुरो बाटो भएको सहरमा व्यवसायीले सामान ओसारपसारमा यो साधन अत्यधिक प्रयोग गर्दै आएको पाइन्छ। यो पिकअपमा अगाडि चालकसहित २ जना बस्न मिल्ने र पछाडि सामान राख्न मिल्ने ट्रेलर हुन्छ।
पिकअपको प्रयोग
ठूला ट्रक जाने नसक्ने व्यस्त तथा साँघुरो बाटो भएको सहरी क्षेत्रमा यो वर्गका पिकअप उपयोगी सावित हुँदै आएको छ। डिजेलबाट चल्ने हुनाले यो सवारीलाई व्यवसायीले इकोनामी सवारीका रूपमा लिने गरेका छन्। यो सेगमेन्टको पिकअप साना तथा मझौला व्यवसायीले बढी प्रयोग गर्दै आएका छन्।
सुपर लक्जरी मल्टि-युटिलिटी पिकअपमा मानिस बस्ने र सामान राख्न मिल्ने ट्रेलरसमेत हुन्छ। लक्जरी पिकअपमा डबल क्याबिन राखिएको हुन्छ। यो पिकअपमा अगाडि चालक तथा अर्को एक जना र त्यसको पछाडि ३ जना बस्न मिल्ने गरी ‘क्र्यू क्याबिन’ निर्माण गरिएको हुन्छ।
पिकअप डबल क्याबिन डिजाइनमा उत्पादन गरिएको हुन्छ। सिंगल क्याबिन भएका पिकअप निर्माण सामग्री ओसारपसार गर्न उपयोगी मानिन्छ भने डबल क्याबिन भएका पिकअप मानिस बस्न तथा सामान राख्नसमेत मिल्ने गरी बनाइएको हुन्छ। सुपर लक्जरी पिकअप विकास आयोजनाहरूमा बढी प्रयोग हुने गरेको पाइन्छ। अफ रोडमा जानेहरू डलब क्याब भएको पिकअप प्रयोग गर्दै आएका छन्।
नेपाली बजारमा ३ देखि ६ सिलिन्डरका पिकअप उपलब्ध छन्। त्यसमध्ये दुई र चार सिलिन्डरका पिकअप धेरै चल्तीमा छन्। यसमा अधिकांश डिजेल इन्जिनमा उपलब्ध छन्। बजारमा टाटाको सुजर एस, जेनोन, महिन्द्राको बोलेरो, निसानको नभारा, फोर्सको ट्रम्प, अशोक लेल्यान्डको डोस, इसुजुलगायत ब्रान्डका पिकअप उपलब्ध छन्।
धेरै सवारी बिक्रेताहरूले नेपाली बाटो सुहाउँदो पिकअप नेपाल भित्र्याएको दाबी गरेका छन्। विगत केही वर्षयता नेपाली बजारमा साना सवारीको प्रयोग वृद्धि हुँदै गएको छ। पिकअपको लोकप्रियताले यसको हिस्सा बढाउन सहयोग गरेको व्यवसायीहरू बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।