काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले ३ महिनाभित्र श्रम बैंक स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्री यादवले ३ महिनाभित्र श्रम बैंक स्थापना गर्ने प्रतिबद्धता जनाएका हुन्।
मन्त्री यादवले देशका ७ सय ७३ वटै स्थानीय तहका बेरोजगार युवाहरुको तथ्यांक संकलन गरी उनीहरुलाई रोजगारदातासम्म जोड्ने पुलको विकासका लागि श्रम बैंक स्थापना गर्ने तयारी सरकारले गरेको बताए।
‘हामी युवाहरुको इच्छाअनुसार उनीहरुलाई सीप तथा तालिममा सहभागी गराई दक्ष बनाउछौं। श्रमिकहरुको दक्षताका आधारमा उनीहरुको सम्पूर्ण तथ्यांक श्रम बैंकमा रहन्छ र आवश्यकताअनुसार श्रमिकहरु छनोट गरी रोजगारदाताहरुले लिन सक्ने छन्‚’ मन्त्री यादवले भने।
बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गरी आन्तरिक रोजगारीलाई प्रवर्द्धन गर्न श्रम बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्री यादवको भनाइ छ।
मन्त्री यादव भन्छन्, ‘अदक्ष श्रमिक वैदेशिक रोजगारीमा जाँदा उनीहरु सस्तो पारिश्रमिकमा जोखिमपूर्ण काम गर्न बाध्य छन्। श्रम बैंकमार्फत् वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई पनि सीप विकास गर्न सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।