काठमाडौं- राजधानीको ट्राफिक व्यवस्थापनको विषयमा नाडाको प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालसँग छलफल गरेको छ। छलफलको मुख्य विषय ट्राफिक जाम र त्यसको निराकरणहरु रहेको थियो।
उक्त भेटघाट तथा छलफलमा महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दै चालक र पैदलयाात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेंलो र हरियो रङको बत्ति राख्ने व्यवस्थाका लागि नाडासँग मिलेर काम गर्न चाहेको बताए।
सो छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नाडाबीच लामो समयदेखि सहकार्य हुँदै आएको बताए। ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकाले संख्या वृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दे आएको पनि दुलालको भनाइ छ। ट्राफिक महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा सुधार गर्नुपर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको उनले बताए।
प्रमुख ढकालले सवारी साधन पैठारीकर्ताहरुले आफ्नो साधन बिक्री गर्दा ग्राहकलाई ट्राफिक जनचेतना जगाउने एउटा पेपरसमेत दिने व्यवस्थाका लागि आग्रह गरे। सोही क्रममा नाडाका पदाधिकारीहरुले ब्लु बुकमा पनि यस्तै व्यवस्था हुन सकेमा ट्राफिक जनचेतना बढाउन सहयोग पुग्ने धारणा राखे।
त्यस्तै नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २०० सिसीको जेण्टलमेन मोटरसाइकल हस्तान्तरण गरेको छ। नाडाले विगतमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल प्रदान गर्दे आएको छ।
नाडाले २०६७ सालदेखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्रसहित प्रोत्साहन स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्दे आएको छ।
उक्त छलफलमा नाडाका अध्यक्ष दुलालसहित उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्यसमिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।