काठमाडौं- रेल सेवा विस्तार गर्ने सरकारी योजनाअनुरुप सरकारले रेल्वे ऐन निर्माण गरिरहेकाे छ। शुक्रबार सरकारले राष्ट्रिय सभामा दर्ता गरेको रेल्वे विधेयकमा रेल चालकले कम्तिमा माध्यमिक तह ( दश जोड दुई) पास गरेको र पाँच वर्ष सहचालकको रुपमा काम गरेको हुनुपर्ने व्यवस्था गरेको छ।
रेल चालक हुनका लागि रेल्वे बोर्डबाट मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चलाउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ। रेल चालक हुन २५ वर्ष र सहचालक हुन २० वर्ष उमेर भएको हुनुपर्ने छ। सरकारले ऐनमै २० वर्ष नपुगेको व्यक्ति सहचालक र २५ वर्ष नपुगेको व्यक्ति चालक हुन नपाउने प्रस्ताव गरिएको छ। त्यस्तै ५० वर्ष पुगेको व्यक्ति दुवै पदका लागि अयोग्य हुनेछ।
सरकारले रेल्वे सञ्चालनका लागि जाँचबुझ गराउनु पर्ने व्यवस्था समेत गरेको छ। बोर्डले रेल्वे सञ्चालन गर्न प्राविधिक तथा सुरक्षाको दृष्टिकोणले उपयुक्त भए वा नभएको सम्बन्धमा विशेषज्ञद्वारा समय-समयमा आवश्यक जाँचबुझ गराउनुपर्ने व्यवस्था गरिएको छ। बोर्डले यात्रीको भाडा र यात्रीका मालसामान ढुवानी तथा विलम्ब शुल्क तोक्ने व्यवस्था गरिएको छ।
त्यस्तै भाडा तथा शुल्क किताबको समेत व्यवस्था गर्नुपर्ने छ। बोर्डले भाडा तथा शुल्कसम्बन्धी व्यवस्थालाई नियमित र व्यवस्थित गर्न भाडा तथा शुल्क (ट्यारिफ) किताबको व्यवस्था गर्नुपर्ने रेल्वे ऐनमै राख्ने प्रस्ताव सरकारले गरेको छ। सरकारले रेल्वे सेवालाई व्यवस्थित बनाउन रेल आइपुग्ने तथा प्रस्थान गर्ने समय तालिका र एउटा स्टेशनबाट अर्को स्टेशनसम्म पुग्न लाग्ने भाडा दर सम्बन्धित यात्रीको जानकारीको लागि अनिर्वाय रुपमा सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
सांकेतिक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।