काठमाडौं- नेपालमा गाडी एसेम्बल उद्योग स्थापनाको घोषणा गरेको दक्षिण कोरियाली कम्पनी मोट्रेक्सले मनोरञ्जन उद्योगसँग सम्बन्धित वस्तु उत्पादनका लागि पनि लगानी बोर्डसँग अनुमति मागेको छ।
मोट्रेक्सले अहिले फोर ह्विलर प्यासेन्जर गाडी बनाउँदैन। तर एसियन सिन्ज्याङ भन्ने यसैको स्वामित्व रहेको अर्को कम्पनीले हेभि इक्विपमेन्ट बनाइरहेको छ। मोट्रेक्स भने सूचना तथा मनोरन्जनसँग सम्बन्धित सामाग्रीहरु बनाइरहेको छ।
नेपालमा गाडी उत्पादनका लागि लगानी प्रस्ताव गरेको यो कम्पनीले मनोरञ्जन क्षेत्रसँग सम्बन्धित विभिन्न वस्तुको उत्पादन प्लान्ट नेपालमा राख्ने र दक्षिण एसियाली मुलुकको बजारलाई लक्षित गरी त्यस्ता वस्तुको बेच्ने लक्ष्यसहित लगानी भित्र्याउन खोजेको लगानी बोर्डले जनाएको छ।
मोट्रेक्सले अहिले भियतनाममा इन्फोटेन्मेन्टसँग सम्बन्धित कम्पनी चलाइरहेको छ। ‘दक्षिण एसियामा मोट्रक्सले जतिपनि मनोरञ्जन उद्योगसँग सम्बन्धित सामानहरु निर्यात गर्छ, त्यो नेपालबाट गर्न चाहिरहेको छ।
नेपालमा सवारी साधनमात्रै बनाउनेभन्दा पनि इन्फोटेन्मेन्टसँग सम्बन्धित वस्तु उत्पादन गर्ने प्लान्टमार्फत यस्ता वस्तुको निर्यात गर्न सकिने सम्भावनाबारे उसको चाँसो छ,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने‚ ‘उसले लगानीका लागि स्वीकृति माग्यो हामीले पनि दियौं। उसका केहि कन्सर्नहरुमा हामीले नेगोसियसन गर्दै जाँदा हामीले उसँग ननडिस्क्लोजर एग्रिमेन्ट (एनडिए) गरेका छौं।’
मोट्रेक्सले नेपालमा लगानी भित्र्याउँदा सातवर्षसम्म अर्को कुनै पनि एसेम्बल कम्पनीलाई नेपालमा लगानी गर्न नदिने र सात वर्षपछि पनि मोट्रेक्सको भन्दा कम लगानी ल्याउने कम्पनीलाई यस्तो उद्योग सञ्चालन गर्न नदिने माग राखेको थियो। तर‚ लगानी बोर्डले भने उसको त्यो मागमा स्वीकृति जनाएको छैन। त्यस्तै, कर तथा भन्सार छुटका विषयमा पनि मोट्रेक्सले सुविधा माग गरेको सिइओ अधिकारीको भनाइ छ।
‘मुलुकभित्रै लगानी गरिएको उत्पादित वस्तु र विदेशबाट उत्पादित वस्तु ल्याउँदा लाग्ने लागत फरक हुने भएका कारण नेपालभित्रै उत्पादित वस्तुलाई केही सेवा सुविधा पाउनुपर्ने उसको माग छ। तर‚ त्यो विषयमा हामीसँग कानुनी स्पष्टता नभएका कारण केही पनि निर्णय गरिसकेका छैनौं,’ उनले भने‚ ‘मोट्रेक्सले ल्याउने वस्तुमा भन्सार छुट पाउँदा नेपालमा उत्पादित वस्तुको मुल्य ३० देखि ४० प्रतिशत कम हुन्छ भनेको थियो। तर हामीले अर्थ मन्त्रालयसँग लामो छलफलपछि पूर्ण भन्सार छुट दिन नसकिने भनेका छौं।’
मोट्रेक्सले उत्पादन गरेको सवारीको मुल्य कति हुन्छ भन्ने कुरा नेपालले कति सेवा सुविधा दिन्छ भन्ने विषयमा निर्भर हुनेछ। मोट्रेक्सले कुन ब्राण्ड र कुन कम्पनीका सवारी साधन नेपालमा बनाउँछ भनेर लगानी बोर्डलाई केहि संकेत गरेको भएपनि त्यसको वास्तविक कुरा भने सार्वजनिक गरिसकेको छैन‚ ‘उसले केहि कम्पनीसँग एमओयु गरेको पनि भनेको छ तर कुन कम्पनीसँग त्यस्तो सम्झौता गरेको हो हामीलाई जानकारी दिइसकेको छैन,’ अधिकारीले भने।
नेपालमा एसेम्बिङ लाइन राख्ने र सवारी उत्पादक कम्पनीसँग सम्झौता गरेर उनीहरुका उत्पादन त्यहाँ राख्ने भनेर मोट्रेक्सले लगानी स्वीकृत गराएको हो। अहिले नै उसले यो ब्राण्ड वा यो कम्पनीको यस्तो गाडी उत्पादन गर्छु भनेर भनिसकेको छैन। सवारी उत्पादन प्लान्ट राख्दा सुरुमा सेमी नक डाउन युनिट र पछि कम्प्लिट नक डाउन युनिट बनाउने भनेको छ।
प्लान्ट बनेको ५ वर्षसम्मका ३० देखि ३५ प्रतिशत लोकल पार्ट राख्ने भनेको छ। रबर, प्लास्टिक, पाइन, नटजस्ता पार्ट्सहरु यतै बनाउन सकिन्छ भनेको छ। प्रतिवर्ष ५० हजार सवारी साधन उत्पादन क्षमताको प्लान्ट राख्ने गरी लगानी स्वीकृत गराएको मोट्रेक्सले २०७५ चैतमा भएको लगानी सम्मेलनको पूर्वसन्ध्यामा नेपालमै सवारी एसेम्बल प्लान्ट स्थापना गर्ने उद्देश्यले १० अर्ब ५४ करोड रुपैयाँ विदेशी लगानी प्रस्ताव गरेको थियो।
त्यसलगत्तै लगानी बोर्डको संचालक समिति बैठकले उक्त लगानी स्वीकृत गरिसकेको छ। मोट्रेक्सको उक्त लगानी आउने निश्चित भएसँगै नेपाली अटोमोबाइल क्षेत्रमा ठूलै तरंग ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।