काठमाडौं- नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालसहितको टोलीले राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीसँग छलफल गरेको छ। टोलीले सरकारले व्यावसायिक क्षेत्रलाई अधिकतम पारदर्शी र स्वच्छ बनाउने उद्देश्यले ल्याएको भेइकल कन्साइनमेन्ट ट्राकिङ सिस्टमको कार्यान्वयनका क्रममा देखा परेका विविध समस्याहरुबारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको छ।
पुस १६ गते नाडा प्रतिनिधि मण्डलले मुलतः अटोमोबाइल व्यवसायीहरुमा भिसिटिएसबारे अन्याेलता रहेको र यसबारे आवश्यक जानकारी पनि नभएको कारण व्यवसायीहरुले जरिवाना तिर्नु परिरहेको बारेमा महानिर्देशकसँग छलफल गरेको थियो। सो छलफलका क्रममा महानिर्देशक मैनालीले यो भिसिटिएस व्यवसायीहरुकै हितमा ल्याइएको भन्दै यसबारे व्यवसायीहरुलाई के कस्तो सहयोगको आवश्यकता पर्छ त्यो दिन विभाग सदैव तयार रहेको बताए।
यो छुट्टै कर प्रणाली नभएको, व्यवसायमा पारदर्शिता भएपछि त्यसमा स्वतः जवाफदेहिताको विकास हुन्छ भन्दै व्यवसायीहरुकै सहजताका लागि असोज मसान्तसम्म जरिवाना नलाग्ने व्यवस्था गरिएको मैनादीको भनाइ थियो। छलफलका क्रममा नाडाका अध्यक्ष दुलालले भिसिटिएसबारे अटोमोबाइल व्यवसायीहरुलाई आवश्यक जानकारी दिन नाडाले एक महिनाभित्रै प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने उल्लेख गरे।
त्यस कार्यक्रमलाई प्रभावकारीरुपमा सम्पन्न गर्न विभागबाट तत्सम्बन्धी विज्ञको अपेक्षा गरेको उनले बताए। महानिर्देशक मैनालीले विभागले राखेको कम्प्युटराइज्ड सिष्टममबारे पनि नाडा प्रतिनिधिमण्डललाई जानकारी गराएका थिए। छलफलमा नाडा अध्यक्ष दुलालसहित नाडाका निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।