जनकपुर- प्रदेश २ सरकारले उखु कृषकहरुका समस्या समाधान गर्ने भएको छ।
लामो समयदेखि उखु कृषकहरुले भोग्दै आएको पीडा र उखु कृषक र उद्योगीबीचको समस्या पहिचान गर्नेतर्फ प्रदेश सरकारले तत्परता देखाएको हाे। यसका निम्ति प्रदेश सरकारले समिति बनाएको छ।
बिहीबार प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साहको अध्यक्षतामा बसेको सरोकारबालाहरुको बैठकले राज्यमन्त्री योगेन्द्र राय यादवको संयोजकत्वमा समिति गठन गरेकाे छ। समितिले उखु कृषक तथा चिनी उद्योगीहरुसँग छलफल, परामर्श, फिल्ड अवलोकन गर्दै एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछन्।
समितिमा कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल र उपसचिव जगन्नाथ प्रसाद जयसवाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट एक/एक जना उपसचिव तथा कृषि विकास निर्देशनलाय नकटाझिजका निर्देशक रत्नकुमार झा र घरेलु तथा साना उद्योग कार्यालय धनुषाका उद्योग अधिकृत संजीब दुबे सदस्य छन्।
बैठकले उखु कृषकहरुका संघ संस्थाहरु, चिनी उद्योगीहरु एवं अन्य सरोकारबालाहरुको बैठक २०७६ साल पुस महिना १० गते मन्त्रालयमा आयोजना गर्ने निर्णयसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।