काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट तथ्यांक प्राप्त गर्ने प्रकृयालाई थप प्रभावकारी बनाउन भन्दै सुपरीवेक्षकीय सुचना प्रणाली (एसआइएस) कार्यान्वयनमा ल्याउने भएको छ।
राष्ट्र बैंकले पहिलो चरणमा वाणिज्य बैंकहरु तथा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकका लागि एसआइएस लागु गर्ने भएको हो।
पुस ६ गते आइतबारदेखि उक्त प्रणालीको सर्भर सुरु गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। एआइएस प्रणाली तयारी अवस्थामा रहेको र प्रथम चरणमा सबै वाणिज्य बैंक, र नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकका लागि पुस २३ गतेदेखि पाइलट टेस्टका रुपमा कार्यान्वयनमा लगिनेछ।
यस्तो प्रणाली लागु भएपछि वाणिज्य बैंक र इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकले अहिले राष्ट्र बैंकमा पेश गर्दै आएका तथ्यांकहरुबाहेक पाइलट टेस्टका रुपमा कार्यान्वयनमा ल्याउन लागिएको एसआइएस प्रणालीमा पनि तथ्यांक पठाउनुपर्नेछ।
‘राष्ट्र बैंकमा पठाइने तथ्यांकका अलावा पुस २३ गतेदेखि समानान्तर रुपमा एसआइएस प्रणालीका लागि तोकिएको इनपुट फारमहरुमा अनिवार्य रुपमा अपलोड गर्न तथा राष्ट्र बैंकबाट गरिने स्थलगत निरीक्षणका जवाफसमेत समानान्तर रुपमा एसआइएस प्रणालीमार्फत नै पठाउन पर्नेछ,’ राष्ट्र बैंकले मंगलबार वाणिज्य बैंकलाई दिएको निर्देशनमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।