काठमाडौं– विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालय प्रमुखहरुले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भ्रमण वर्ष सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगी रुपमा प्रस्तुत हुन आफूहरु तयार रहेको उनीहरुको भनाइ छ।
मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल भ्रमण वर्ष–२०२० को बिषयमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र विदेशी एयरलाइन्सहरूको संगठन बोर्ड अफ एयरलाइन्स रिप्रेजेन्टेटिभ इन नेपाल (बार्न)का पदाधिकारीसहित विदेशी एयरलाइन्सका नेपालस्थित कार्यालय प्रमुखबीच भएको छलफलमा यस्तो प्रतिबद्धता आएको हो ।
छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको बिषयमा जानकारी दिँदै विदेशी एयरलाइन्सहरूले गर्नुपर्ने सहयोग र सरकारको अपेक्षा बारे धारणा राखेका थिए। उनले भम्रण वर्षको विशेष प्रबद्र्धन गरिदिन आग्रह गरेका थिए। नेपाल आउने पर्यटकरुको निम्ती विशेष छुट, ‘प्याकेज’ घोषणाको आग्रह गरे।
मन्त्री भट्टराईले विमानहरुमा नेपाल भ्रमण वर्ष–२०२०सँग सम्बन्धी सामग्रीको छोटो प्रर्दशनी, विमानका यात्रुलाई नेपाल भ्रमण वर्ष–२०२०को बारेमा संक्षिप्त जानकारी र विमानभित्र प्रमोशनका सामग्री राखिदिन पनि आग्रह गरे।
यसैगरी मन्त्री भट्टराईले बोर्डिङ्ग पास, लगेजको स्टीकर लगायतमा नेपाल भ्रमण वर्ष–२०२०को लोगो टाँस्न पनि आग्रह गरे। विदेशी एयरलाइन्सले उठाएका प्राविधिक, व्यवस्थापकीय र नीतिगत समस्या सुधारका लागि सरकार तयार रहेको समेत उनको भनाइ थियो। उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीका लागि आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिए। नेपाल भ्रमण वर्ष–२०२०लाई आधार वर्ष अर्थात् पर्यटनमा नेपालीहरुको मनोविज्ञान तयार गर्ने वर्ष र आगामी एक दशकलाई पर्यटन दशकको रुपमा मनाउने उनले बताए।
बार्नका अध्यक्ष टंकनिधि दाहालले विदेशी एयरलाइन्सहरूले भोगिरहेका व्यवस्थापकीय, प्राविधिक र नीतिगत समस्यासमेत राख्दै नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन बार्नमा आबद्ध सबै एयरलाइन्सको सहयोग रहने बताए। बार्नका उपाध्यक्ष भोला थापाले नेपाल भ्रमण वर्ष–२०२० सफल पार्ने दायित्व आफूहरुको पनि रहेको भन्दै सहयोगको प्रतिबद्धता जनाए।
छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई केन्द्रित गरेर केही छुट तथा प्याकेजका कार्यक्रम घोषणा गरिदिन आग्रह गरे। उनले विदेशी एयरलाइन्सलाई समस्या हुने कुनै नीतिगत समस्या भए समाधानका लागि मन्त्रालय तयार भएको बताए। कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी दिपकराज जोशीले नेपाल भ्रमण वर्ष–२०२०को तयारी विषयमा जानकारी दिएका थिए।
पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को विषयमा छलफललाई तीव्र पारेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।