काठमाडौं- वायु सेवा सञ्चालकहरुले नेपाल भ्रमण वर्ष-२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल बनाउन गरेको सहयोग आह्वानप्रति प्रतिबद्धता जनाउदैं वायु सेवा सञ्चालकहरुले सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका हुन्।
सोमबार मन्त्रालयमा वायु सेवा सञ्चालकहरुको संगठन वायु सेवा सञ्चालक संघका पदाधिकारीहरुसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरुले आफ्ना सरोकार र समस्यासमेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका थिए।
छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष-२०२० को तयारीको विषयमा जानकारी दिँदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालकहरुको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षा बारेमा धारणा राखेका थिए। मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरुलाई नेपाल भ्रमण वर्ष-२०२० को सन्दर्भमा विशेष छुट, प्याकेज लगायतका कार्यक्रम बनाउन आग्रह समेत गरे।
यसैगरी भ्रमण वर्ष-२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सृजनात्मक सहयोग गर्नका लागि मन्त्रीले आग्रह गरेका थिए।
वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल बनाउन वायु सेवा सञ्चालकहरु सक्रिय भएर सहयोग गर्न प्रतिबद्धता जनाए। संघको तर्फबाट वायुसेवाहरुको समस्या र समधानको विषयमा सुझाव समेत राखेका थिए। उनले भ्रमण वर्ष-२०२० को अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीहरुलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग राखे।
यसैगरी काठमाडौंदेखि रामेछापसम्मको बाटो स्त्तोरन्नती हुनुपर्ने माग उनीहरुको थियो। छलफलमा संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रालिका योगराज कडेल शर्मा लगायतले भ्रमण वर्ष-२०२० लाई सफल बनाउन वायु सेवा कम्पनीहरुको सहयोग रहने विश्वास मन्त्री भट्टराईलाई दिलाएका थिए।
विदेशी विशिष्ट व्यत्तित्व र सेलीब्रेटीहरुलाई छुट दिने विषयमा पनि छलफल भएको थियो। यसको विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष-२०२० को सचिवालय, पर्यटन बोर्ड र वायु सेवा सञ्चालक संघ रहेको समिति पनि बनाइएको छ।
छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, नेपाल भ्रमण वर्ष-२०२०को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ लगायतको सहभागिता थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।