काठमाडौं- काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि अध्ययनको कार्यले तीव्रता पाएको छ। रेल विभागले उपत्यकाको उत्तर–दक्षिण समेट्ने गरी बुढानीलकण्ठदेखि खोकनासम्म मेट्रो रेल निर्माणका लागि डिपिआर तयारका लागि सम्झौताको तयारी गरेको छ।
बुढानीलकण्ठदेखि खोकनासम्म मेट्रो रेल निर्माण गर्ने उद्देश्यले रेल विभागले डिपिआर निर्माणका लागि सम्झौताको तयारी गरेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।
'काठमाडौंमा मोनो रेलभन्दा मेट्रो रेल नै उपयुक्त भएकाले विभागले बुढानीलकण्ठदेखि खोकनासम्मका लागि डिपिआर बनाउने सम्झौताको तयारी गरिरहेको छ,’ मिश्रले भने, ‘निश्चित समयमा डिपिआर तयार भएसँगै मेट्रो निर्माण सुरु गर्छौं।’
उपत्यकाको ट्राफिक समस्या कम गर्न मेट्रोले सहयोग पुर्याउने छ। काठमाडौं उपत्यकामा मेट्रो रेल बनाउने विषयमा धेरै अघिदेखि नै छलफल र अध्ययन हुँदै आएको छ। तत्कालीन् प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं उपत्यकामा मेट्रो रेल सञ्चालनको काम अघि बढाउन त्यससम्बन्धी विभिन्न नमुना वा ढाँचा अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गरेको थियो।
काठमाडौं उपत्यकामा पछिल्ला वर्षमा यातायात व्यवस्थापन असहज हुँदै गएको तथा सवारी साधनको वृद्धिसँगै यात्रा असहज हुँदै गएकोले मेट्रो रेलको सम्भावना खोज्न थालिएको थियो। त्यसअघि कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले पनि सन् २०१२ मा काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरेको थियो।
त्यही समयदेखि बेला–बेलामा यसको चर्चा हुँदै आएको छ। केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा रेल निर्माणले थप चर्चा पाएको थियो।
स्थानट्ठय चुनावमा काठमाडौं महानगरपालिकाका मेयरका उमेद्वार विद्यासुन्दर शाक्यले त काठमाडौं मेनो तथा मेट्रो दुवै रेल ५ वर्षभित्र बनाउने भन्दै चुनाव समेत जिते। काठमाडौंको अर्को पाटो तर्फ भने लगानी बोर्डले अध्ययन गरिरहेको छ। थानकोटदेखि बनेपासम्मको रुटमा मेट्रो रेल निर्माणका लागि लगानी बोर्डले हेरि रहेको महानिर्देशक मिश्रले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।