काठमाडैं– नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले निर्माण गर्न लागेको भवनको शिलान्यास गरिएको छ। नेवापसको कार्यालय भनिमण्डलमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री युवराज खतिवडाले भवनको शिलान्यास गरे।
आगामी १० महिनाभित्र सो भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको नेवापसले जनाएको छ। भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले भौतिक निर्माण मात्र नभई वातावरण संरक्षण र नीति निर्माणको क्षेत्रमा नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए। अर्थमन्त्री खतिवडाले मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन सहकार्यको रुपमा वुझिनुपर्ने जिकिर गरे।
वरिष्ठ पत्रकार भैरव रिसालले कार्य समितिलाई शुभकामना दिँदै समूहले विभिन्न काल खण्ड पार गर्दै वातावरणको क्षेत्रमा छुट्टै पहिचान बनाएको बताए। कार्यक्रमलाई सम्बोधन गर्दै नेवापसका अध्यक्ष कसमस विश्वकर्माले समूहको लागि ऐतिहासिक दिन रहेको बताए। नेवापसका महासचिव निमेष रेग्मीले विगत ३३ वर्षदेखिको सपना साकार हुन लागेको बताए।
भवन निर्माणका लागि नेवापसले ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेड र पि.सी विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिेटडको संयुक्त उपक्रम (जेभी)सँग सम्झौता गरेको छ। एक करोड पचास लाख लगानीमा नेवापसको भवन निर्माण हुन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।