काठमाडौं- मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माणाधीन ४ सय केभी ढल्केबर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ।
पुसभित्र (डिसेम्बर २०१९) निर्माण सम्पन्न गरी संचालन गर्ने लक्ष्य (चार्ज)का साथ जिआइएस प्रविधियुक्त स्वचालित सबस्टेसनको काम भइरहेको छ।
मुलुक भित्र पूर्व-पश्चिम विद्युत आपूर्ति र भारतसँग विद्युत् व्यापारका लागि ढल्केबर सबस्टेसन ठूलो हब बन्ने छ। सबस्टेसन चार्ज भएपछि नेपाल-भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात निर्यातका लागि पूर्वाधार तयार हुने छ। साथै ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रुपमा प्रवाह गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न सकिने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘सबस्टेसनमा रहने ट्रान्सफर्मरको क्षमता ९ सय ४५ केभीए छ, २ सय २० केभी प्रसारण लाइनमार्फत ढल्केबर सबस्टेसनमा आएको विद्युत्लाई त्यहाँबाट आन्तरिक खपतका लागि पूर्व र पश्चिम पठाउन सकिन्छ, वर्षायाममा बढी भएको खण्डमा ढल्केबर-मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत भारतमा सिधै निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘हिउँदमा आवश्यक परेमा न्यूनतम ६ सय मेगावाट विद्युत आयात गर्न सकिन्छ भने दुई मुलुकबीच इनर्जी बैकिङ गर्न समेत बाटो खुल्ने छ।’ दुई मुलुकबीच इनर्जी बैकिङ गर्ने सैद्धान्तिक सहमति भइसकेको छ।
ढल्केबर-मुजफ्फपुर ४ सय केभी क्रसबोर्डर प्रसारण लाइन २ सय २० केभीमा संचालनमा छ। ढल्केबरमा ४ सय केभीको सबस्टेसन निर्माण सम्पन्न भएपछि यो लाइन ४ सय केभीमा संचालन हुने छ।
माथिल्लो तामकोसीबाट असारभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ। आयोजनाबाट उत्पादित विद्युत्लाई दोलखाको गोंगरबाट २ सय २० केभी डबल सर्किट प्रसारण लाइनमार्फत खिम्ती हुँदै ढल्केबर ल्याइने छ। यसका लागि आयोजनाले गोंगर-खिम्ती प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुर्याएको छ। खिम्ती-ढल्केबर प्रसारण लाइन यसअघि नै संचालनमा आइसकेको छ।
सबस्टेसनको कन्ट्रोल रुम रहने भवनसहित अन्य उपकरणहरु रहने भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको छ। सबस्टेसनमा रहने तीनवटा ट्रान्सफर्मरमध्ये एउटा निर्माणस्थलमा आइसकेको छ। बाँकी दुईवटा एकहप्ताभित्र आयोजनास्थलमा ल्याइसकिने छ।
यसैगरी, ८० एमभीएआर क्षमताको रियाक्टर पनि ल्याइसकिएको छ। अन्य उपकरणहरु निर्माणस्थलमा आइसकेका छन्। उपकरणहरुको जडान धमाधम भइरहेको छ।
सबस्टेसनमा ३ सय १५ एमभीएका तीनवटा गरी ९ सय ४५ एमभीए क्षमताको ट्रान्सफर्मर रहने छन्। जसले करिब नौ सय मेगावाट विद्युत्लाई प्रसारण गर्न सक्दछन्।
नेपाल सरकार र विद्युत् प्राधिकरणको करिब दुई अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन ४००/२२० केभीको ढल्केबर सबस्टेसन ४ सय केभी प्रणालीमा आधारित नेपालकै पहिलो सबस्टेसन हो। सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षभित्रमा ४ सय केभीको ढल्केबर सबस्टेसन निर्माण सम्पन्न गरी संचालनमा ल्याउने घोषणा गरेको छ।
निर्देशक कुलमान घिसिङले मंगलबारे निर्माणकार्यको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा सम्पन्न गर्न आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन्।
‘सबस्टेसन रहने तीनवटा ट्रान्सफर्मरमध्ये कम्तिमा पनि एउटा पुस (डिसेम्बर २०१९) भित्र चार्च गरिसक्नुपर्छ, यसका लागि काम गर्ने जनशक्ति थप्नुहोस्’,उनले निर्देशन दिए।
सबस्टेसन निर्माण भारतीय कम्पनी एबीबी र परामर्शदाताको काम नेपाली कम्पनी एनइए इन्जिनियिरिङले गरिरहेको छ।
प्राधिकरण र कम्पनीबीच सबस्टेसन निर्माणका लागि ८ डिसेम्बर २०१७मा ठेक्का सम्झौता भएको थियो। प्राधिकरणले मकवानपुरको हेटौंडा र सुनसरीको इनरुवामा पनि ४००/२२० केभीको सबस्टेसन निर्माण गरिरहेको छ।
उत्पादित विद्युत्को आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार प्रवर्द्धनका लागि आन्तरिक प्रसारण एवं वितरण र अन्तरदेशीय प्रसारण प्रणालीहरुको विस्तार तथा सदृढीकरण गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।