काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० का विषयमा ३१ देशका राजदूत र पाँच वैदेशिक साझेदार संस्थाका प्रमुखलाई जानकारी गराएका छन्।
भ्रमण वर्ष सफल बनाउन मन्त्री भट्टराईले कूटनीतिक नियोगका प्रमुखलाई मन्त्रालयमा बोलाएर आग्रह गरेका हुन्।
भ्रमण वर्ष–२०२० सफल बनाउन नेपालस्थित राजदूतहरुको महत्वपूर्ण भूमिका हुने उनले बताए। भ्रमण वर्षको विश्वभरि सूचना तथा सन्देश प्रवाह गर्न राजदूतहरुलाई आग्रह गरे। उनले भने, ‘यहाँहरुको देशका नागरिक पठाइदिन अनुरोध गर्छु। क्रिसमस र नयाँ वर्ष नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईंको देशका नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस्।’
मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै भने, ‘महाभूकम्पको पीडाबाट उठ्न गर्नु भएको सहयोगप्रति फेरि एकपटक आभार प्रकट गर्दछौं । अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरुको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौं ।’
भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिँदै १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए। मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्दै भने, ‘अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालको लक्ष्य हो।’
मन्त्री भट्टराईले २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत सञ्चालनमा ल्याउने तयारी भएको पनि बताए।
गौतम बुद्ध विमानस्थलमा उडान भर्ने विमान कम्पनीलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्नेसमेत उनको भनाइ थियो।
नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियन लगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पूरा गर्न सरकार सक्रिय रहेकोसमेत मन्त्री भट्टराईको भनाइ छ।
कार्यक्रममा सहभागी राजदूतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटकहरुमा चीन दोस्रो रहेको उल्लेख गर्दै नेपाल भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाइन्।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामग्री उपलब्ध गराए तिनलाई आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने बताए।
त्यस्तै, अस्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानी राजदूत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।