काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चीन उडान निश्चित भएको छ। चीनले निगमलाई ग्वाङ्झाउमा उडानको अनुमति दिन भएको छ।
सिभिल एभिएसन एड्मिनिस्ट्रेसन अफ चाइना (सिएएसी)ले निगमको 'सेफ्टी अडिट' तत्काल आवश्यक नपर्ने र आफूले मागेका आवश्यकता निगमले पुरा गरेको भन्दै उडान तालिका पठाउन निगमलाई पत्राचार गरेसँगै नेपाली राष्ट्रिय ध्वजाबाहक चीन प्रवेश गर्न पाउने भएको हो।
निगमले एयरबससँग २ वटा वाइडबडी जहाज खरिद गरेपछि चीनसँगै अन्य देशका लामो गन्तव्यमा उडान गर्ने तयारी गरेको थियो। यसअघी जापानको ओसाका उडाउन सफल भएको वाइडबडी जहाज अब चीन जानेछ। निगमले चीनमा आवश्यक व्यवस्थापनका लागि ग्वाङ्झाउमा आफ्नो प्रतिनिधि नै पठाइसकेको थियो।
चीनले निगमको सेफ्टी अडिट गर्नुपर्ने भन्दै यसअघि निगमलाई चीन प्रवेशको बाटो बन्द गरेको थियो। तर यसबीचमा उसले मागेका आवश्यक कागजात नेपालले उपलब्ध गराएको र त्यसको आधारमा तत्काल अडिट गर्नु नपर्ने देखिएको भन्दै ग्वाङ्झाउमा उडान गर्न तालिका मागेको हो।
स्रोतका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि चिनियाँ उड्डयन नियामक सिएएसीलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएसँगै चीनले ग्वाङ्झाउमा नेपाली जहाज प्रवेशको बाटो खोलिदिएको हो। 'चिनियाँ उड्डइन अथोरिटीले मागेको आवश्यकता पुरा गरेको कागजात नेपाल वायुसेवा निगमले पेश गरेको थियो,' स्रोतले भन्यो, 'त्यसका अतिरिक्त नागरिक उड्डयन प्राधिकरणले पनि सुरक्षाका विषयमा आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएपछि निगमको ग्वाङ्झाउ प्रवेश सहज बनेको हो।'
चीनले उड्डयन सुरक्षाको अडिट गर्दै हिमालय एयरलाइन्सलाई उडानको अनुमती दिइसकेको छ। हिमालय एयरलाइन्सले गत अक्टोबर २७ बाट चीन उडान थालिसके पनि राष्ट्रिय ध्वजाबाहकले भने चीन जान पाएको थिएन।
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा निगमकै जहाजमार्फत चार्टर उडान गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।