काठमाडौं- भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीको कार बिक्री २ करोड नाघेको छ। आइतबार कम्पनीले भारतमा हालसम्म आफ्नो कार उत्पादन २ करोड (२० मिलियन) नाघेको उल्लेख गरेको छ।
कम्पनीले भारतमा १४ डिसेम्बर १९८३ मा पहिलो कार उत्पादन गरेको थियो। त्यसको करिब ३७ वर्षपछि मारुतीले उक्त उपलब्धी हासिल गरेको हो। ३७ वर्षअघि मारुतीले आइकोनिक कार मारुती ८०० उत्पादन गरेको थियो।
मारुतीले २९ वर्षको अवधिमा १ करोड कार बिक्री गरेको थियो भने अर्को १ करोड कार ८ वर्षमै बिक्री गरेको हो। कम्पनीको यो उपलब्धी कोषेढुंगा नै भएको मारुती सुजुकी इन्डियाका प्रबन्ध निर्देशक तथा सिइओ किनिची आयकावाको भनाइ छ।
मारुती सुजुकी इन्डियाको माउ कम्पनी सुजुकी मोटर कर्पोरेसनले भारतमा साना इलेक्ट्रिक कार ल्याउने योजनालाई तिव्रता दिएको छ। कम्पनीले ५० वटा इलेक्ट्रिक सवारीको प्रोटोटाइप परिक्षण गरिरहेको छ।
यस्तो छ इतिहास
कुनै समय निकै चर्चित ‘स्मल ह्याचब्याक’ कार नेपाली बजारमा पनि सर्वाधिक बिक्री हुने मोडलमध्येमा पर्छ। मारुती ८०० नेपाली सडकमा ट्याक्सीको रुपमा एकछत्र प्रयोग भएको छ। मारुती ८०० पछिल्लो समय अल्टो नाममा स्तरोन्नती भई बजारमा उपलब्ध रहेको छ। यो कार ट्याक्सीका साथै कारका रुपमा समेत नेपाली उपभोक्ताको रोजाइमा रहेको छ।
भारतको गान्धी परिवारले स्थापना गरेको यो उद्योग संजय गान्धीको सोच र सक्रियतामा स्थापना भएको थियो। यो कम्पनी स्थापनाकालताका संजय गान्धी नै कम्पनीको प्रबन्ध निर्देशक थिए।
सन् १९७१ मा स्थापना भएको मारुती उद्योग लिमिटेड आज भारतको सर्वाधिक सफल अटोमोबाइल कम्पनी भएको छ। प्यासेन्जर कार कम्पनीमा मारुती सुजुकी ५० प्रतिशतभन्दा बढी बजार हिस्सा सहित लोकप्रिय रहेको छ। पिपुल्स कार निर्माण गर्ने सोच अनुरुप संजयले रोल्स रोयसको जागिर त्यागेर भारत फर्के अनि उक्त कम्पनी स्थापना गर्न सफल भए।
तर संजयको गाडी उत्पादन गर्ने सपना भने पुरा भएन। सन् १९८० मा संजय गान्धीको निधन भएपछि सन् १९८१ मा जापानी गाडी उत्पादक कम्पनी सुजुकीले मारुती कम्पनीसँग साझेदारी गरेको हो। त्यसपछि सन् १९८३ डिसेम्बर १४ तारिखबाट गाडीको उत्पादन सुरु भयो।
सुरुवाती समयमा मारुती ८००को मूल्य ४७ हजार ५ सय भारु राखिएको थियो। भारतमा उत्पादन भएको पहिलो ह्याचब्याक कार ७ सय ९६ सिसी इन्जिन क्षमतामा बजारमा आएको थियो। जापानी प्रविधिसहितको इन्जिन दिइएको उक्त कारमा ४ जनाले सजिलै यात्रा गर्न सक्थे। फ्रन्ट ह्विल ड्राइभ, डिस्क ब्रेक, फ्लोर सिफ्ट गियर, बकेट सिट, प्लास्टिक मोल्डेड ड्यासबोर्ड जस्ता विशेषता रहेको यो कार बजारमा आएसँगै भारतीय बजारका चर्चित कार पद्मीनी र एम्बेस्डरको बिक्रीमा गिरावट आएको थियो।
अहिले आइपुग्दा पद्मीनी र एम्बेस्डर दुबै मोडल बन्द भएका छन्। हिन्दुस्तान मोटर्सको ब्रान्ड एम्बेस्डर प्रान्सेली कम्पनी पिएसएले खरिद गरी केही सयमपछि बजारमा ल्याउने तयारी गरेको छ। मारुतीले सन् १९८४ मा मारुती भ्यान सार्वजनिक गर्यो। त्यसपछि क्रमिकरुपमा आएका मारुतीका कारले भारतीय बजारमा निकै ठूलो बजार हिस्सा पाउन सफल भयो।
मरुतीको पहिलो कार अहिले बजारमा अल्टो ८०० को नामबाट बिक्री भइरहेको छ। सन् २०१३ मा कम्पनीले मारुती ८०० को आधिकारिक रुपमा उत्पादन बन्द गरेको थियो। भारतमा लागु भएको नयाँ प्रदूषण मापदण्डमा उक्त मोडल परिमार्जन गर्नुपर्ने भएपछि बन्द भएको हो। मारुतीले मारुती८०० लाई विस्थापित गरी अल्टो८०० बजारमा ल्याएको हो।
मारुती ८०० मोडल २८ लाख ७० हजारवटा उत्पादन भएकोमा भारतमा मात्रै २६ लाख ६० हजारवटा बिक्री भएको थियो भने भारत बाहिर २ लाख १० हजारवटा बिक्री भएको थियो।
हाल भारतमा मारुतीका दुई दर्जनभन्दा बढी मोडल बिक्री हुँदै आएको छ। नेपाली बजारमा समेत मारुती सुजुकीका अल्टो, भिटारा ब्रेजा, बलेनो, स्विफ्ट, डिजायर, इग्निस, इर्टिगालगायत कार रोजाइमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।