काठमाडौं- राजस्व अनुसन्धान विभागले दुई कम्पनी र तिनका प्रोपाइटरविरुद्ध अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र आयकर छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ।
विभागले दुई कम्पनी र तिनका सञ्चालकविरुद्ध १ करोड ८४ लाख ४१ हजार विगो माग दाबी गर्दै जिल्ला अदालत कपिलवस्तुमा मुद्दा दायर गरेको हो।
कपिलवस्तुको चन्द्रौटामा रहेको लुम्बिनी पान मसला तथा सूर्ति-गुट्खा उद्योगका सञ्चालक अब्दुल्लाह मुसलमानले राजस्व चुहावट गरेको कसुरमा ७८ लाख ४८ हजार ८ सय ३१ रुपैयाँ र एएएस ट्रेडर्स एन्ड सप्लायर्सका प्रोपाइटर दुजमान थापाले राजस्व चुहावट गरेको कसुरमा ५ लाख ४५ हजार ७ सय ५ रुपैयाँ समेत गरी १ करोड ३२ लाख ५४ हजार ५ सय ३६ रुपैयाँ विगो कायम गरी आइतबार मुद्दा दायर गरेको हो।
त्यस्तै विभागले अर्घाखाँची मेटल स्क्राप सप्लायर्सका प्रोपाइटर सकिल अहमद फकिरले १ हजार २ सय ६७ केजी अर्ध तयारी सूर्तीजन्य वस्तु भन्सार चोरी पैठारी गरेको अभियोगमा मुद्दा दायर गरिएको छ। उनले ब्रान्ड विनाको सूर्ति तयार गरी राजश्व चुहावट गरेको कसुरमा ५१ लख ८६ हजार ७ सय ४४ रुपैयाँ विगो कायम गरी कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। यो मुद्दा विभागले मंसिर १२ मा दायर गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।