काठमाडौं- सरकारले साझा यातायातमार्फत खरिद गर्ने भनिएको विद्युतीय बसको अझै टुङ्गो लाग्न सकेको छैन।
बस खरीदका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संस्थाको रु ३ अर्बको शेयर खरिद गरेको ५ महिना बित्दासमेत खरिद प्रक्रिया अन्योलमा छ।
सरकारले दिएको ‘स्पेसिफिकेसन’ (कस्तो बस खरिद गर्ने भन्ने विवरण) र साझाले बस खरिदका लागि गरेको तयारीमा फरक देखिएको भनी दशैं पहिले खरिद प्रक्रिया अघि नबढाउन साझालाई निर्देशन दिएको थियो। त्यसपछि मन्त्रालय र संस्थाबीच दुईपटक बैठक भए पनि टुङ्गो लाग्न नसकेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए।
उनका अनुसार बस खरिद साझामार्फत नै गरिने भए पनि कुन रूपमा गर्ने भनी टुङ्गो लाग्न नसकेको हो। उनले भने, ‘आगामी बैठकबाट बाँकी विषय टुङ्ग्याएर बस खरिद प्रक्रिया अघि बढाइनेछ।’ काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमा ठूला बस सञ्चालन गर्दै आएको साझाले नेपाल सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा विद्युतीय बस खरिद गर्ने र सञ्चालन गर्ने योजना बनाएको थियो।
विद्युतीय बस खरीदका लागि प्रदेश नं ३ले रु ३० करोड, काठमाडौं महानगरपालिकाले रु १० करोडका शेयर खरिद गरेका थिए। ललितपुर महानगरपालिका र साझा आफैँले रु २ करोड ५० लाख लगानी गरेर विद्युतीय बस खरीद गर्ने बताइएको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।