काठमाडौं- आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि भन्दै सरकारले ४ वटा पदमार्ग निर्माण, मर्मत तथा सम्भारको जिम्मा हिमान्जय कन्सट्रक्सनलाई दिएको छ।
गत भदौमा गरेको टेन्डरमा सबै भन्दा कम रकममा काम गर्ने कबुल गरेको हिमान्जयलाई बोलपत्र स्वीकृत गर्ने आशयको सूचना समेत प्रकाशन भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले ‘नेपाल भ्रमण वर्ष २०२०’लाई लक्षित गर्दै ४ वटा पदमार्ग मर्मतका लागि टेन्डर आह्वान गरेको थियो।
विभागले महाभारत पदमार्ग (ट्रेल), फूलचोकी–पनौती–नमोबुद्ध, माछापुच्छ्रे नमूना पदर्माग र पाल्पा रानीमहल– रुपन्देही–बुटवल –अर्घाखाँची( नुवाकोट) रुटको पदमार्ग निर्माण तथा मर्मतका लागि टेन्डर आह्वान गरेको थियो।
टेन्डरका लागि विभागले असोज १६ गतेसम्मको समयावधि राखेको छ। जसमा महाभारत पदमार्गको लागि ६७ लाख २५ हजार, फूलचोकी–पनौती–नमोबुद्ध मार्गका लागि ३७ लाख ८५ हजार, माछापुच्छ्रे नमूना पदर्मागका लागि ४२ लाख ७ हजार र रानीमहल–अर्घाखाँची ( नुवाकोट) रुटको पदमार्ग निर्माण तथा मर्मतका लागि ६७ लाख ३६ हजार रुपैयाँ (कर बाहेक) अधिकतम मूल्य राखेर टेन्डर गरेको थियो।
तर, हिमान्जयले महाभारत पदमार्ग ३२ लाख ५० हजार ५ सय १०, फूलचोकी–पनौती–नमोबुद्ध मार्ग १७ लाख ५५ हजार ३ सय ५२ रुपैयाँ, माछापुच्छ्रे नमूना पदर्माग २० लाख २८ हजार ९ सय २ रुपैयाँ र रानीमहल–अर्घाखाँची ( नुवाकोट) पदमार्ग ३३ लाख ४९ हजार ३ स्य ६७ रुपैयाँमा निर्माण गर्ने कबुल गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।