काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले सहुलियतपूर्ण कर्जा लिएर स्वरोजगार र स्वाबलम्बी बन्न युवाहरुलाई आग्रह गरेका छन्।
युवाहरुलाई लक्षित गरी सरकारले विभिन्न ९ वटा शीर्षकमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यसहित कार्यविधि कार्यान्वयनमा ल्याएको भन्दै अर्थमन्त्री खतिवडाले उक्त कार्यविधिको पालनाका लागि बैंकहरुले पनि जिम्मेवारी बोध गर्नुपर्ने बताए।
अर्थ मन्त्रालयद्वारा जारी गरिएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (दोश्रो संशोधन) कार्यविधि २०७६को प्रभावकारी कार्यान्वयनका लागि भन्दै बुधबार राष्ट्रिय युवा परिषदसँग ४ वटा वाणिज्य बैंकले गरेको समझदारी कार्यक्रममा अर्थमन्त्री खतिवडाले यस्तो भनाइ राखेका हुन।
सरकारले युवा स्वरोजगार र आन्तरिक उत्पादकत्वको बढावालाई प्राथमिकतामा राखेको स्मरण गराउँदै अर्थमन्त्री खतिवडाले कम ब्याजदरमा ऋण लिएर नै युवाहरुलाई उत्पादनका क्षेत्रमा आवद्ध हुन आग्रह गरेका हुन्। ‘सरकारले केहि क्षेत्रमा अनुदान दिन्छ। तर अनुदानको रकम पनि सहि ठाउँमा उपयोग भएको देखिएन। त्यसकारण अनुदान भन्दा सहुलियतपूर्ण ऋणका लागि हामीले जोड दिनुपर्छ। किनकि यसले जिम्मेवारी बोध गराउँछ,’ खतिवडाले भने।
सरकारले जारी गरेको सहुलियतपूर्ण ऋणसम्बन्धी कार्यविधिको पालना बैंक तथा वित्तीय संस्थाहरुले पालना गर्नुपर्ने पनि उनको भनाइ थियो। ‘बैकहरु पनि सहुलियतपूर्ण कर्जाको विषयलाई प्राथमिकतामा राखेर केहि सामाजिक व्यवसायलाई जोड दिनुहोस्। अहिले संस्थागत सामाजिक उत्तरदायित्वका नाममा बैंकहरुले केहि लगानी गर्छन्। त्यस्तै भावनाअनुरुप सामाजिक व्यवसाय प्रवर्धनका लागि पनि सहज र सरल ढंगले युवाहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनु आवश्यक छ,’उनले भने।
स्वरोजगार र वस्तु तथा सेवाको उत्पादनमा वृद्धि गर्नु राष्ट्रिय लक्ष्य भएका कारण बैंक वित्तीय संस्थाहरुले पनि त्यसमा सहभागिता जनाउन पनि यस्ता कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने अर्थमन्त्री खतिवडाले बताए।
कुनै बैंकबाट सहुलियतपूर्ण कर्जा नपाएमा त्यसको गुनासो सम्बन्धित निकायमा गर्न पनि अर्थमन्त्री खतिवडाले सुझाएका छन्। ‘कसैले बैंकबाट सहज रुपमा सहुलियतपूर्ण कर्जा पाएका छैनन् भने त्यसको जानकारी सम्बन्धित निकायलाई गराउनुहोस्। टोल फ्रि नंम्बरमा कल गर्नुहोस। अथवा मलाई नै जानकारी गराए पनि हुन्छ। मेरो इमेलमा समस्या लेखी पठाउनुहोस्, समाधान हुन्छ,’अर्थमन्त्री खतिवडाले भने।
बुधबार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि कार्यान्वयन र युवा उद्यमशीलता र स्वरोजगारको प्रवर्धनका लागि भन्दै युवा परिषद र नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, तथा कृषि विकास बैंकबीच सम्झौता भएको हो। त्यस्तै एनएमबी बैंकसँग उद्यमशीलता विकास तथा सीप प्रवर्धन र वित्तीय साक्षारता अभिवृद्धिका लागि परिषदसँग सम्झौता भएको छ।
कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसाय प्रवर्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारका अवसर सिर्जना, विदेशबाट फर्केका युवाको सीप र व्यवसायिक दक्षताका आधारमा बैंकहरुले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।