काठमाडौं- सडक निर्माण समयमै नसकिँदा उपभोक्ता आजित भई ठेकेदारको फोटो गाडी तथा पोलमा टाँस्न थालेपछि सडक निर्माणले केही तीव्रता पाएको छ। भक्तपुर–नगरकोट–सीपाघाट सडकको काम एक सातामा ७ प्रतिशतभन्दा बढी भएको थियो। यो बाटो निर्माणको ठेक्का शारदाप्रसाद अधिकारीको कम्पनी सैलुङ कन्स्ट्रक्सनले पाएको थियो।
सडक विभागअन्तर्गतको आयोजनाले भक्तपुर–नगरकोट–सीपाघाट सडक र बल्खु–दक्षिणकाली सडक निर्माणको ठेक्का लगाएको थियो। ९.६८ किलोमिटरको बल्खु–दक्षिणकाली सडकको ठेक्का २०१५ को जुनमा लागेको थियो। सम्झौताअनुसार यो सडक निर्माण कम्पानीले २३ अक्टोबर २०१७ मा सकेर हस्तान्तरण गरिसक्नु पर्थ्यो।
यो सडक निर्माणको ठेक्का सिमाञ्चल–गौरिपार्वती–सुनौलो खिम्ती जेभीले पाएको थियो। कम्पनीले बल्खु–दक्षिणकाली सडक २४ करोड ५२ लाख रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो।
आयोजनाले यो सडक निर्माण समयमै नसकिँदा ४ पटक म्याद थप गरिसकेको छ भने पाँचौपटक म्याद थपका लागि प्रस्ताव गरेको छ। चोभरस्थित सुख्खा बन्दरगाहदेखि शेषनायारयणसम्मको यो बाटो समयमै निर्माण नहुँदा स्थानियले सास्ती व्यहोरेका छन्। ‘हामीले आयोजना समयमै सक्न ताकेता गरेपनि ठेकेदार कम्पनीले काममा ढिलाई गर्दा बाटो बन्न केही समय लागेको हो,’ आयोजना प्रमुख जगत प्रजापतिले भने।
यो बाटोको हालसम्मको भौतिक प्रगति करिब ९३ प्रतिशत पुगेको प्रजापतिले जानकारी दिए। आयोजनाको पाँचौ पटकको म्याद यही नोभेम्बर ३० सम्मका लागि थप गर्ने प्रस्ताव गरिएकाले यो अवधिमा काम सकिने अनुमान गरिएको उनको भनाइ छ।
ठेकेदार कम्पनीले गत वर्षको गरेको पिच बिग्रिएको स्थानमा मर्मतलाई तीव्रता दिएको र अन्यत्र बेस राखेर पिचको तयारी तीव्र बनाएकाले काम सकिनेमा आफूहरु विश्वस्त रहेको प्रजापतिले बताए। त्यो बाटोमा पानी बोकेका ट्यांकरले उकालो बाटोमा पानी चुहाउँदा बाटो छिटो बिग्रिएको हो। यसमा ठेकेदार कम्पनीले कम्प्लेन गरेकाले नगरपालिकासँगको समन्वयमा ट्यांकरबाट पानी नचुहिने गरि लान निर्देशन दिने तयारी भइरहेको उनको भनाइ छ।
आयोजना निर्माणका लागि जेभीमा ठेक्का लिएको भएपनि नेपाली ठेकेदार कम्पनीमात्र साइटमा उपस्थित भएकाले पनि काम समयमा नसकिएको आयोजनाले जनाएको छ। नेपाली ठेकेदारले मात्र काम गर्न नसक्ने भन्दै भारतीय कम्पनीलाई जेभी राखिएको हो। तर जेभी कम्पनीको सक्रियता शून्य प्रायः हुँदा कामको प्रगति सोचेअनुसार नभएको आयोजनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।