काठमाडौं- सरोकारवालाहरुले घरेलु कामदारका रुपमा विदेश जाने नेपालीहरुको बाटो खुल्ला गर्न जोड दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित आप्रवासी महिला घरेलु श्रमिकको गतिशीलता र मर्यादित कामको अधिकार सम्बन्धी छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले घरेलु कामदारका रुपमा जाने श्रमिकहरुको वैधानिक बाटो खुल्ला गर्न जोड दिएका हुन्।
आप्रवासन विश्वव्यापी मान्यता भएकाले यसमा सरकारले रोक लगाउन नहुने भन्दै घरेलु श्रमिकका हकअधिकार सुनिश्चित गर्दै बाटो खुल्ला गरिनुपर्ने विषयलाई कार्यक्रममा उठान गरिएको थियो।
कार्यक्रममा बोल्दै महिला पुनर्स्थापना केन्द्र ओरेक नेपालका कार्यकारी निर्देशक लुभराज न्यौपानेले आप्रवासी श्रमिकहरुले नेपालको कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान पुर्याएको बताए।
‘नेपालबाट घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या ठूलो छ, विभिन्न तथ्यांक हेर्दा नेपालबाट ३ लाखभन्दा बढी महिलाहरु वैदेशिक रोजगारमा गएका छन्। विदेसिएका ३ लाखमध्ये घरेलु कामदारका रुपमा जानेको संख्या ठूलो छ‚’ कार्यकारी निर्देशक न्यौपानेले भने।
पछिल्लो समय सरकारले घरेलु कामदारको वैधानिक बाटो बन्द गरेसँगै अवैधानिक बाटो भारत हुँदै जाने र जोखिममा पर्ने श्रमिकहरुको संख्या बढ्दै गएकाले सरकारले त्यता ध्यान दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा बोल्दै ट्रेड युनियन काँग्रेसका प्रतिनिधि देवीप्रसाद लम्सालले घरेलु कामदार प्रतिको दृष्टिकोण, धारणा र उनीहरुलाई गरिने व्यवहारमा परिवर्तन ल्याउन जोड दिनुपर्ने बताए।
‘वैदेशिक रोजगारमा जाने घरेलु कामदारको बाटो बन्द गर्नुभन्दा उनीहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी गरी खुल्ला गरिनुपर्दछ‚’ उनले भने।
कार्यक्रममा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि गिरीप्रसाद आचार्यले श्रम मन्त्रालयको पहलमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बन्द रहेको घरेलु कामदारलाई पुनः श्रम स्वीकृति दिई बाटो खुल्ला गरिएको बताए।
घरेलु कामदारलाई नयाँ श्रम स्वीकृतिका सम्बन्धमा पनि सम्बन्धित गन्तव्य देशसँगको समझदारी, अध्ययन, अनुसन्धानपछि अघि बढाइने उनको भनाइ थियो।
‘श्रम मन्त्रालयले थुप्रै नीतिगत परिवर्तनहरु गरिसकेको छ, घरेलु कामदारको रुपमा बाटो खुल्ला गर्ने सम्बन्धमा पनि हामी समितिसँग छलफल सहकार्य, अध्ययन अनुसन्धान गरेर सामाजिक सुरक्षाको ग्यारेन्टी हुने गरी पहल गछौँ‚’ मन्त्रालयका प्रतिनिधि आचार्यले भने।
परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले घरेलु कामदारका सम्बन्धमा गन्तव्य मुलुकमा रहेका कमी कमजोरीलाई औँल्याएर सरकार अगाडि बढ्ने बताए।
वैधानिक बाटो बन्द गर्दा अवैधानिक बाटो हुँदै जाने श्रमिकको संख्या बढ्दै गएको सहसचिव घिमिरेले स्वीकार गरे।
उनले भने, ‘हामी घरेलु कामदारका सुरक्षाका सम्बन्धमा कुटनीतिक पहल गर्छौ, बलियो नीतिगत व्यवस्थापछि बाँकी प्रकृया अगाडि बढ्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।