काठमाडौं- वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले अनलाइनबाटै विदेश जाने कामदार छनोट गर्न लागिएको बताएका छन्। कामदार छनोट प्रक्रिया थप पारदर्शी बनाउन अनलाइन प्रणाली लागू गर्न लागिएको बताएका हुन्।
‘कामदार छनोट प्रक्रिया थप पारदर्शी बनाउन हामीले केही समयमा कामदार छनोट पनि अनलाईन प्रणालीमार्फत गर्दैछौँ, सुरुमा हामीले संस्थागत श्रम स्वीकृति लिनेहरुमा यो नियम लागू गर्छौँ,’महानिर्देशक भुसालले नेपाल लाइभसँग भने।
सम्बन्धित सरोकारवालाहरुलाई अभिमुखीकरण गरेपछि यो प्रणाली लागू हुने महानिर्देशक भुसालको भनाइ छ। यो प्रणाली लागू गर्दा सुरुमा केही कठिनाई उत्पन्न भएपनि त्यसलाई विस्तारै व्यवस्थापन गर्दै लैजाने उनको भनाइ छ।
अनलाइन प्रणाली लागू भएसँगै कामको खोजीमा विदेश जाने श्रमिकले सबैकुरा अरुमै भर पर्नुपर्ने बाध्यताअन्त्य हुने उनको दाबी छ। अनलाइनमार्फत नै आफू कुन कामको लागि जाँदैछु। सेवासुविधाहरु केके छन् भन्ने कुरा अनलाईनमार्फत नै जानकारी लिन सकिनेछ।
सक्कल पासपोर्ट बुझाउनु नपर्ने
कामदार छनोट प्रकृया अनलाइनमार्फत नै सुरु हुने भएपछि श्रमिकहरुले आफ्नो सक्कल राहदानी (पासपोर्ट) म्यानपावरलाई बुझाउन नपर्ने महानिर्देशक भुसालले जानकारी दिए।
‘कामदार छनोट प्रणाली अनलाइन भएपछि श्रमिकले म्यानपावरलाई सक्कल राहदानी बुझाउनु पर्दैन, पासपोर्ट नम्बर वा फोटोकपी मात्रै दिए हुन्छ,’महानिर्देशक भुसालले भने।
यसअघि वैदेशिक रोजगारीमा जाने श्रमिकले म्यानपावरलाई सक्कल राहदानी बुझाउँदा लामो समयसम्म राहदानी म्यानपावरमै 'होल्ड' हुने समस्या थियो।
तोकिएको समयमा भिसा नआउने र आफ्नो राहदानी माग्दा पनि नपाउने समस्या श्रमिकले झेल्दै आएका छन्। कामदार छनोट अनलाइन प्रणालीमार्फत् भए यो समस्याको अन्त्य हुने दाबी विभागको छ।
अनलाइन प्रणाली सुरु भएपछि कुन देशमा कुन कामका लागि कति कामदार छनोट भए भन्ने जानकारी सिधै विभागलाई प्राप्त हुन्छ। भिसा प्रक्रिया पूरा भएपछि अनलाइनबाट नै श्रम स्वीकृति प्रदान गरिन्छ।
यसअघि विभागले श्रम स्वीकृतिको विद्युतीय निस्सा विद्युतीय स्टिकर (इलेक्ट्रिक स्टिकर) जारी गर्न थालिसकेको छ। इमेल हुनेलाई इमेलमा त्यो स्टिकर प्रदान गरिन्छ भने इमेल नहुने श्रमिकका लागि प्रिन्ट गरी जारी गरिएको विभागले जनाएको छ।
१५ गतेदेखि विद्युतीय टोकन र म्यासेजिङ
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई मंसिर १५ गतेदेखि श्रम स्वीकृतिको विद्युतीय पालो (ईलेक्ट्रीक टोकन) उपलब्ध गराउने भएको छ।
‘श्रमिकले श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने बित्तिकै ई-टोकन प्राप्त गर्दछन्। जसमार्फत श्रम स्वीकृतिको पालो कुन दिन पर्दछ भन्ने जानकारी प्राप्त हुन्छ,' महानिर्देशक भुसालले भने।
श्रमिक आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो आफूलाई सहज हुने श्रम कार्यालय छनोट गर्न पाउने बताइएको छ। ई-टोकन प्रणाली लागू भएपछि श्रम स्वीकृतिका लागि श्रमिकहरूले लामो समय कुर्नु नपर्ने हुँदा सहज हुने महानिर्देशक भुसालको भनाइ छ।
श्रम स्वीकृति भइसकेपछि श्रमिकको मोबाइलमा मेसेज प्राप्त हुन्छ। विभिन्न कारण श्रम स्वीकृत वा अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नुपर्ने भएमा समेत मोबाइलमा मेसेज जाने विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।