काठमाडौं- वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई श्रम स्वीकृतिको विद्युतीय पालो (ईलेक्ट्रीक टोकन) उपलब्ध गराउने भएको छ।
मंसिर १५ गतेदेखि विद्युतीय टोकन प्रणाली लागू गरिने विभागका महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए। ई टोकनसँगै मेसेज सेवा सुरु गरिने विभागले जनाएको छ।
‘श्रमिकले श्रम स्वीकृतिका लागि अनलाइन फारम भर्ने बित्तिकै ई टोकन प्राप्त गर्दछन्। जसमार्फत श्रम स्वीकृतिको पालो कुन दिन पर्दछ भन्ने जानकारी प्राप्त हुन्छ’, महानिर्देशक भुसालले भने।
श्रमिक आफूले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो आफूलाई सहज हुने श्रम कार्यालय छनोट गर्न पाउने बताइएको छ। ई टोकन प्रणाली लागू भएपछि श्रम स्वीकृतिका लागि श्रमिकहरूले लामो समय कुर्नु नपर्ने हुँदा सहज हुने महानिर्देशक भुसालको भनाइ छ।
श्रम स्वीकृति भइसकेपछि श्रमिकको मोबाइलमा मेसेज प्राप्त हुन्छ। विभिन्न कारण श्रम स्वीकृत वा अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नुपर्ने भएमा समेत मोबाइलमा मेसेज जाने विभागले जनाएको छ।
श्रमिकको ई स्टीकर उनीहरूको आफ्नै इमेलमा प्राप्त हुने विभागले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।