काठमाडौं– प्याज निकासीमा भारतीय प्रतिबन्धको असर नेपाली बजारमा देखिन थालेको छ। मंसिर १ गते कालिमाटी तरकारी बजारमा प्याज प्रतिकेजी थोक मूल्य अधिकतम १ सय ६० रुपैयाँमा कारोबार भएको थियो। तर, आज सोमबार थोक बजारमै प्याजको मूल्य प्रतिकेजी २० रुपैयाँले बढेर १ सय ८० पुगेको छ। खुद्रा बजारमा भने सोमबार प्याज प्रतिकेजी २ सयदेखि २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।
असोज १२ गते भारतले प्याज निकासीमा प्रतिबन्ध लगाउँदा नेपाल बजारमा प्याज प्रतिकजी अधिकतममा थोक बजार मूल्य १ सय २० रुपैयाँ थियो।
तर, झन्डै ४५ दिनपछि प्याजको मूल्य थोक बजारमा अधिकतम प्रतिकेजी १ सय ८० रपैयाँ पुगेको छ। थोक बजारमा १ सय ८० रपैयाँमा कारोबार भएको प्याजको खुद्रा मूल्य भने प्रतिकेजी २ सय १० रुपैयाँसम्म पुगेको छ।
यसअघि भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि खासै मूल्य बढेको थिएन।
दसैं तथा तिहारसम्म नेपाली बजारमा प्याज प्रतिकेजी सरदर थोक बजरमा एक सय रुपैयाँ र खुद्रा बजारमा १ सय २० रुपैयाँमै कारोबार भइरहेको थियो। भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर परेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए।
‘नेपाली बजारमा खपत हुने प्याजको बढी हिस्सा भारतबाटै आउने गरेको छ। प्याज कोल्डस्टोरमा राख्ने चलन छैन, मागअनुसार ल्याएर बिक्री वितरण गर्ने हो। त्यसकारण निर्यातमा बन्देज लगाएपछि त्यसको प्रभाव त अवश्य देखिएको छ,’ पौडेलले भने।
भारतले निर्यातमा प्रतिबन्ध लगाए पनि स्टक रहेको प्याज र चीनबाट भएको आयातका कारण पनि प्याजको मूल्य केही समय स्थिर जस्तै बसको व्यापारीहरुको भनाइ छ। अहिले बजारमा प्याजको माग बढेपनि निर्यात भने अति नै कम भएको छ।
जसका कारण प्याजको मूल्य बढ्न थालेको कालीमाटी तरकारी बजार विकास समितिको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।