काठमाडौं- वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको पहिलो ३ महिनामा अपेक्षाकृत नाफा नबढ्दा त्यसको असर मुलुकको सञ्चित कोषमै पर्ने भएको छ। मुलुकको राजस्व संरचनामा महत्वपूर्ण योगदान गर्ने बैंक तथा वित्तीय क्षेत्रको विस्तार सुस्त हुँदा त्यसको असर सरकारले नै भोग्ने देखिएको हो।
२८ वटै वाणिज्य बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार उनीहरुको नाफा औषतमा ६.२५ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ अर्ब २२ करोड रुपैयाँ नाफा गरेका बैंकहरुले यो वर्ष १६ अर्ब १७ करोड नाफा भएको वासलात सार्वजनिक गरेका छन्।
सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ८० अर्ब ३५ करोड रुपैयाँ आयकर संकलनको लक्ष्य राखेको छ। बैंक तथा वित्तीय संस्थाले २५ प्रतिशत आयकर तिर्नुपर्छ। सरकारले चालु वर्षमा राखेको आयकर संकलनको लक्ष्य गत वर्षको असुलीभन्दा ४४.३० प्रतिशतले धेरै हो। यसको अर्थ बैंकहरुको आम्दानी पनि त्यही अनुपातमा बढे मात्रै सरकारले अपेक्षा गरेअनुसार राजस्व पाउँछ।
'आर्थिक वर्षको पहिलो ३ महिनाको बैंकहरुको वित्तीय विवरण हेर्दा त्यसको असर आयकरमा पर्ने देखिन्छ,' ठूला करदाता कार्यालयका एक उपसचिवले भने, 'पुसको वित्तीय विवरण पनि यही अवस्थाको रह्यो भने हाम्रो कर संकलनमा ठूलो प्रभाव पर्ने निश्चित छ।' करमा दर्ता भएका कम्पनीहरुले पुसमा आयकरको पहिलो किस्ता सरकारलाई बुझाउनुपर्छ।
सरकारले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेको छैन। अन्त:शुल्क, मूल्य अभिवृद्धि कर र भन्सार लक्ष्यको तुलनामा कम संकलन भइरहेको अवस्थामा आयकरमा सबैभन्दा महत्वपूर्ण योगदान दिने क्षेत्रको आम्दानी नै घटेपछि सरकारमाथि थप दबाब बढ्ने भएको हो।
केहीको नाफा बढ्यो, केहीको घट्यो
पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार केही बैंकले गत आर्थिक वर्षको यही अवधिका तुलनामा राम्रो नाफा आर्जन गरेका छन् भने केही बैंकको नाफा गतवर्षको भन्दा कम छ। पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख ३७ हजार कमाएको छ।
नाफा धेरै कमाउने वाणिज्य बैंकको दोश्रो नम्बरमा रहेको नबिल बैंक लिमिटेडले १ अर्ब १२ करोड ३५ लाख ८६ करोड नाफा कमाएको छ भने तेश्रो नम्बरमा रहेको एनआइसी एसिया बैंकले १ अर्ब ९६ लाख रुपैयाँ नाफा कमाएको छ।
सबैभन्दा कम नाफा सिभिल बैंक लिमिटेडको छ। यो बैंकले पहिलो तीन महिनामा १५ करोड ८९ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ। सिभिलको यो वर्षको नाफा अघिल्लो वर्षको सोही अवधिमा भन्दा २ करोड ६१ भन्दा कम छ।
पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको तुलनामा कम नाफा कमाउने बैंकहरुको संख्या ९ छ। चालु आर्थिक वर्षको असोज मसान्तको तुलनामा गत आर्थिक वर्षको यही अवधिमा भन्दा कम नाफा कमाउने बैंकहरुमा सिटिजन्स बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, बैंक अफ काठमाडौं, नेपाल इन्भेस्टमेन्ट बैंक, सिभिल बैंक, एनसीसी बैंक र नेपाल एसबिआई बैंक छन्।
अघिल्लो वर्षको तुलनामा यसवर्ष प्रतिशतका हिसाबले बढी नाफा कमाउनेमा एनएमबी बैंक पहिलो स्थानमा छ। एनएमबीले अघिल्लो वर्षको भन्दा यसवर्षको नाफा ४८ प्रतिशतले बढाएको छ। गतवर्ष यो अवधिमा २६ करोड ४५ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको यो बैंकले यसवर्ष ५५ करोड ५ लाख ५७ हजार नाफा कमाएको छ।
नाफामा गतवर्षको भन्दा यसवर्ष प्रगति गर्ने अरु बैंकहरुमा ग्लोबल आइएमई बैंकले आफ्नो नाफा ४० प्रतिशतले, सनराइज बैंकले ३७, सेन्चुरी कमर्सियलले ३५ प्रतिशत र एनआइसी एसियाले ३४ प्रतिशतले बढाएको छ।
अघिल्लो आवको तीन महिना अवधिको तुलनामा नाफा खस्किएका बैंकहरुमा सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको नाफा ३६ प्रतिशतले घटेको छ। गतवर्ष असोज मसान्त सम्ममा ९१ करोड ३८ लाख ८४ हजार नाफा कमाएको उक्त बैंकल चालु आवको यही अवधिमा भने ५८ करोड १८ लाख २३ हजार रुपैयाँ बराबर मात्रै नाफा कमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।