काठमाडाैं- अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताएका छन्।
अर्थमन्त्री खतिवडाले मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भएपनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताए। मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धि अलोकप्रिय नीति लिनु परेको उनले दोहोर्याउए।
‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं,’ कर दिवसको अवसर पारेर आइबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने, 'अत्याधिक ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले मुलुकको दीर्घकालीन हितका लागि करसम्बन्धी अलोकप्रिय निर्णय लिनु परेको हो।’
अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्टयाउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको जानकारी गराए। अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई मुलुकप्रति जवाफदेही बनाउने गरी कर कानून लागू गरिएको पनि दोहोर्याए।
उनले मुलुकको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एसियामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।