काठमाडौं- सरकारले आठौँ राष्ट्रिय कर दिवसका अवसरमा उद्योगी एवं व्यवसायीलाई सम्मान गरेको छ। प्रत्यक्ष एवं अप्रत्यक्ष करमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने उनीहरुलाई प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सम्मानित गरिएको छ।
धेरै कर्त तिर्ने उत्पादन, सेवा तथा व्यापारसँग जोडिएका कम्पनीहरुले पुरस्कार पाएका छन्। कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायीको प्रोत्साहनका लागि सरकारले कानुनी संशोधन गरिरहेको बताएका छन्। अर्थमन्त्री खतिवडाले राजस्व प्रशासनलाई चुस्त बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए।
सबैभन्दा धेरै कर तिर्नेमा सूर्य नेपाल प्रालि, निर्यातकर्ता कम्पनीबाट सबैभन्दा ठूलो करदातामा डाबर नेपाल, मदिरा र चुराेटबाहेक धेरै आयकर तिर्नेमा जगदम्बा स्टिल, कृषितर्फ बढी कर तिर्नेमा अन्नपूर्ण एग्राे रहेका छन्।
यसैगरी सहकारी र लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था, बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक, बीमा व्यवसायतर्फ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन्। स्वास्थ्य शिक्षामा मणिपाल नेपाल, सूचना सञ्चारमा वर्ल्डलिंक कम्युनिकेसन, व्यापार व्यवसायमा अग्नि इन्कर्पोरेट, पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटल रहेका छन्।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले करबापत संकलन गरेको रकम विकासमा प्रयोग हुनुपर्ने बताए।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजस्व बोर्ड गठन गरेर सरकारले व्यवसायीका समस्या समाधान गर्न ध्यान पुर्याउनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।