काठमाडौं- चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला प्रस्ताव गरिएको अरनिको राजमार्ग स्तरोन्नतीको प्रक्रिया अघि बढेको छ। सडक विभागले अर्थमन्त्रालय मार्फत अनुदानमा अरनिको राजमार्ग स्तरोन्नतीको प्रस्ताव पठाएको हो।
चिनियाँ पक्षले बाह्रबिसेदेखि तातोपानीसम्मको सडक खण्ड स्तरोन्नती गरि दिने भनेको थियो। तर सरकारले पाँचखालदेखि नै अनुदानमा राजमार्गको स्तरोन्नती गरिदिन चीन सरकारलाई पत्र पठाएको हो।
चिनियाँ राष्ट्रपतिको गत असोजमा भएको नेपाल भ्रमणका बेला नै सरकारले अरनिको राजमार्ग स्तरोन्नतीको प्रस्ताव राखेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए। त्यहीअनुरुप विभागले अर्थमन्त्रालयमार्फत अनुदानमा निर्माणका लागि प्रक्रिया अघि बढाएको शर्माको भनाइ छ।
‘चीन सरकारले सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानी नाकासम्म स्ट्यान्डर्ड दुई लेनको सडक बनाउन सहमत भएको छ,’ उनले भने, ‘तर हामीले काभ्रेको पाँचखालदेखि नै अनुदानमा राजमार्ग स्तरोन्नतीको लागि अर्थमार्फत लेखि पठाएका हौं।’
काठमाडौंदेखि चीनको तातोपानी नाका जोड्ने मुख्य मार्ग अरनिको राजमार्ग स्तरोन्नती सरकारको प्राथमिकतामा रहेको छ। हाल दुई लेन रहेको अरनिको राजमार्ग ४ लेनको बनाउने योजना सरकारले अघि सारेको हो। अरनिको राजमार्ग कोठमाडौंदेखि कोदारीसम्म १ सय १५ किलोमिटर रहेको छ।
उत्तरी छिमेकी चीनको सीमा जोड्ने अरनिको राजमार्गलाई फराकिलो बनाउने विषयमा २०७२ मंसिरको मन्त्रिपरिषद् बैठकले भक्तपुरदेखि तातोपानीसम्मको सडक चौडा बनाउने र नाकालाई अझै व्यवस्थित बनाउने निर्णय गरेको थियो।
२०२२ देखि निर्माण सुरु भएर २०२८ मा निर्माणसम्पन्न भइ पूर्ण सञ्चालनमा आएको उक्त राजमार्ग करिब पाँच दशकदेखि नेपाल–चीन मित्रताको प्रतीकका रुपमा रहँदै आएको छ। २०७२ को भुकम्पपछि चीनले तातोपानीको साटो रसुवागढी नाकालाई प्राथमिकता दिँदा यो सडक स्तरोन्नतीमा केही ढिलाई भएको हो। तर सिको नेपाल भ्रमण पश्चात पुनः तातोपानी नाका र यो सडकले प्राथमिकता पाएको हो।
नेपालसँग आधा दर्जन नाकालाई व्यवस्थित गर्दै कम्तीमा दुईवटालाई अटुट राजमार्ग बनाउने औपचारिक जानकारी चीनले गराएको थियो। सोही आधारमा सरकारले अरनिको राजमार्ग विस्तारको योजना अगाडि बढाएको सडक विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।