काठमाडौं- अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा ७.०१ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण सार्वजनिक गरेको छ। चालु वर्षको बजेटमार्फत ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएकोमा बजेट कार्यान्वयनको ३ महिनामै संकुचित प्रक्षेपण सार्वजनिक गरिएको छ।
चालु वर्षमा कृषि क्षेत्रको वृद्धिदर कमजोर हुने अपेक्षा गरिएको छ। यसैगरी सरकारी खर्च पनि अपेक्षाकृत बढ्न नसक्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ। मन्त्रालयले पहिलो ३ महिनाको आर्थिक क्रियाकलापलाई मध्यनजर गर्दै आर्थिक वृद्धिदर सुरुवाती लक्ष्यको तुलनामा १.४९ प्रतिशत विन्दूले कम हुने नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो।
'गत वर्ष बढेको धानको उत्पादन यो वर्ष केही शिथिल हुनु अनुमान गरिएको छ, धानबालीमा विभिन्न समस्या देखिँदा पहिले जस्तो उत्पादन नहुने र सरकारी खर्च पनि अघिल्लो वर्षजस्तै सुस्त देखिने लक्षण देखिएको छ,' मन्त्रालयसम्बद्ध स्रोतले भन्यो, 'हामीले सुरुवातमा जुन लक्ष्य राखेका थियौँ, त्यो भन्दा केही कम हासिल हुने देखिन्छ।'
सरकारले प्रक्षेपण गरेको नयाँ आर्थिक वृद्धिदर हासिल गरे पनि नेपाल तीव्र आर्थिक वृद्धिदर हासिल गर्ने मुलुकहरुको सूचीमा पर्नेछ। गत वर्ष पनि ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएको थियो। आर्थिक वर्ष २०७२/०७३ पछि नेपालले तीव्र आर्थिक वृद्धिदर हासिल गरिरहेको छ। भूकम्प र भारतीय नाकाबन्दीका कारण त्यस वर्ष भने आर्थिक वृद्धिदर ०.२ प्रतिशत सिमित भएको थियो।
चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा करिब २० प्रतिशतले विस्तार गर्ने, कृषि क्षेत्रको विस्तार र ४ खर्ब ८ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्दै ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएर बजेट ल्याइएको थियो। नेपाल राष्ट्र बैंकको अपेक्षाअनुसार निजी क्षेत्रतर्फको कर्जाको माग भए पनि सरकारी खर्च कमजोर हुँदा त्यसले आर्थिक वृद्धिलाई नै प्रभावित पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।