काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएको एक वर्ष पूरा भएको छ।
इन्टरनेटको माध्यमबाट संसारको जुनसुकै ठाउँबाट प्रणालीमा प्रवेश गरी धितोपत्रहरूको खरिद बिक्री आदेशबाट प्रविष्ट गरी वास्तविक समयमा कारोबार गर्न सकिने प्रणालीका रुपमा नट्स कार्यान्वयनमा ल्याइएको भएपनि यसको प्रभावकारिता भने अपेक्षाकृत देखिँदैन।
हाल पुँजीबजारमा १५ लाख भन्दा बढीको संख्यामा लगानीकर्ता रहेपनि नट्स प्रणालीबाट कारोबार गर्ने अथवा हालसम्म अनलाईन कारोबार गर्ने लगानीकर्ताको संख्या भने १६ हजार २ सय ३४ जना मात्रै छ।
नट्स प्रणाली लागू भएपछि २ सय ४२ दिन नेप्सेमा कारोबार भएको छ भने सो अवधिमा कुल १ खर्ब ६ अर्ब ९ करोड ३८ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबारमा अनलाइन प्रणालीबाट भएको कारोबारको हिस्सा १५ दशमलव ५९ प्रतिशत अर्थात १६ अर्ब ५४ करोड ८२ लाख ९ हजार रुपैयाँ बराबर छ।
सो अवधिमा १५ लाख २४ हजार १४ वटा कारोबार बाट ३७ करोड १२ लाख ५७ हजार ९ सय ८८ कित्ता सेयर किनबेच भएको छ। जसमा अनलाईन प्रणालीबाट ५ करोड ८७ लाख २१ हजार कित्ता सेयर किनबेच भएको छ।
नट्स प्रणाली लागू भएपछि एक दिन २ अर्ब भन्दा माथि र १२ दिन १ अर्ब भन्दा माथिको कारोबार भएको नेप्सेले जनाएको छ।
गतवर्ष कात्तिक २० गते अर्थमन्त्री डा युवराज खतिवडाले नट्स प्रणालीको उद्घाटन गरेका थिए। सोहि दिनदेखी नेप्से कारोबार प्रणाली औपचारिक रुपमा संचालनमा छ। शुरुमा नेप्सेको प्रणाली सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा ४ वटा क्लियरिङ बैंकको प्रणालीसँग एकिकृत थियो।
पछि नट्सलाई नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को प्रणालीमा आवद्ध गराई त्यसका सदस्य तथा अन्य बैंक वित्तीय संस्थामार्फत अनलाईन रकम हस्तान्तरण भईरहेको छ। जसअनुसार एनसिएचएलमा आवद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्थामार्फत कारोबार सम्बन्धी रकम भुक्तानी भईरहेको छ।
नट्स सञ्चालनको सुरुवाती दिनमा डाटा डिस्प्ले, लगानीकर्ताको युनिक क्लाइन्ट कोड (युसिसि) जेनेरेसन, केवाइसी अद्यावधिक, डिएनए लगइन, नयाँ सूचीकरण भएका कम्पनीको पहिलो दिनको कारोबारमा केही समस्या देखा परेकोमा ती समस्याहरू अहिले नरहेको नेप्सले दाबी गर्दै आएको छ।
यद्यपि, अनलाइन प्रणालीबाट हुने कारोबारमा हालसम्म पनि १६ हजारको संस्थामा मात्रै लगानीकर्ता आवद्ध हुनुले यसको प्रभावकारितामा भने प्रश्न उठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।