काठमाडौं- परिमाणामभन्दा गुणात्मक खाद्यान्न तथा खाद्यवस्तु उत्पादनमा जोड दिन सरकारले कार्यक्रम संचालन गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघले बिहीबार काठमाडौंमा आयोजना गरेको 'नेपालमा खाद्य सुरक्षा चुनौती र विश्व अभ्यास' विषयक अन्तर्क्रियात्मक कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन्।
मानिसको आधारभूत आवश्यकता खाद्यान्नको गुणस्तरमा पछिल्लो समय ह्रास आएकाले गुणस्तरीय खाद्यान्न उत्पादनमा जोड दिनुपर्ने विषय उठान गरिएको हो। कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले गुणात्मक कृषि उत्पादनमा कृषकसँग हातेमालो गर्न सरकार तयार रहेको बताए।
‘पहिले हामी कृषि उत्पादनको क्वालिटीमा ध्यान दिँदैन थियौँ, जति धेरै मात्रामा उत्पादन भयो त्यति धेरै राम्रो भन्ने लाग्थ्यो, हामी विस्तारै बुझ्दै गएका छौँ, सचिव जिसीले भने, ‘हामीले पेट भर्नका लागि मात्रै खाने होइन, स्वस्थ रहनका लागि सुरक्षित खाद्यान्न आवश्यक पर्दछ। परिमाणात्मकभन्दा पनि गुणात्मक उत्पादनमा ध्यान दिन आवश्यक छ।’
नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले पनि अब साना तथा ठूला कृषकहरुले गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए।‘गुणस्तरीय कृषि उपजका लागि गुणस्तरीय बिउ आवश्यक पर्दछ, त्यसैले बिउ उत्पादन तथा प्रशोधनमा समेत ध्यान दिन आवश्यक छ,' अध्यक्ष पाठकले भने, ‘स्वस्थ खाद्य उत्पादनका लागि संघले देशका सातै वटा प्रदेशमा बिउ प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ।’
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा सपोर्ट एक्टिभिटिज फर पुअर प्रोडक्स अफ नेपाल (साप्रोस)का अध्यक्ष श्रीकृष्ण उपाध्यायले समेत सकारले नीजि क्षेत्रहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए। गुणस्तरीय कृषि उत्पादनका लागि सरकारले कृषकहरुलाई सचेत गराउनु पर्ने उनको भनाइ छ।
कार्यक्रममा नेपालसहित नेदरल्यान्ड, भारत, बंगलादेश, भियतनाम, भुटानलगायतका कृषि विज्ञ तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।