काठमाडौं- भारतको ट्याक्टर उत्पादक कम्पनी 'स्वराज'ले उत्पादन गरेका ट्याक्टरहरु कम्पनीले तोकेभन्दा बढी पावरको भनि बिक्री गरेको पाइएको छ।
स्वराजको मोडल ‘७४४ एफई’ ट्याक्टरलाई कम्पनीले ३ सिलिण्डर ४४.३५ हर्स पावरमा उत्पादन गरेको छ। तर, नेपाल ल्याउँदा स्वराजको आधिकारिक बिक्रेता ओम्नी अटोमोबाइल प्रालिले 'लिफ्लेट'मा ४८ हर्स पावर उल्लेख गरी त्यसैका आधारमा दर्ता गराएको पाइएको छ।
हर्स पावर बढाएर कम्पानीले उपभोक्तालाई महँगो मूल्यमा बिक्री गर्दै आएको छ। साविक यातायात व्यवस्था कार्यालय, नारायणीले कम्पनीले ल्याएको लिफ्लेटमै उल्लेखित हर्स पावरका आधारमा ट्याक्टर दर्ता गर्दै आएको छ।
स्वराज कम्पनीको ट्याक्टर ४४.३५ हर्स पावर क्षमताको रहेको भारतको उत्तर प्रदेश सरकारको आधिकारिक निकायले प्रमाणित गरेको छ। तर, कम्पनीले आफूखुसी लिफ्लेट बनाएर त्यसैका आधारमा कार्यालयलाई विवरण उपलब्ध गराएको हो। कार्यालयले कम्पनीले आफूखुसी उपलब्ध गराएको विवरणकै आधारमा ट्याक्टर दर्ता गरेको छ।
कम्पनीले उत्पादन सर्टिफिकेटमा उल्लेख गरेको विवरणकै आधारमा सवारी दर्ता गर्नुपर्ने कानुनी व्यवस्था रहेको यातायात व्यवस्था विभागले जनाएको छ। ‘उत्पादक कम्पनीले तोकेको इन्जिन, पावरलगायत कागजातकै आधारमा यातायात कार्यालयले सवारी दर्ता गर्ने हो,’ विभागका प्राविधिक निर्देशक प्रेमकुमार सिंहले भने, ‘कम्पनीले तोकेभन्दा फरक क्षमतामा दर्ता गर्न पाइँदैन।’
ट्याक्टरलाई कृषि उपकरण मानेकाले विभागबाट प्राविधिक स्विकृति लिनु नपर्ने भएकाले त्यसबारेमा सम्बन्धित कार्यालयमै बुझ्नुपर्ने सिंहको भनाइ छ।
साविक यातायात व्यवस्था कार्यालय, नारायणीले भने स्वराज ट्याक्टरको आधिकारिक बिक्रेता ओम्नी अटोमोबाइललाई यस बारेमा जानकारी दिन भनिसकेको जनाएको छ। कार्यालयले स्वराज ट्याक्टरको दर्ता तथा नामसारी रोक्का गरेर कम्पनीलाई ट्याक्टरको हर्स पावर फरक परेको विषयमा जवाफ दिन भनेको कार्यालय प्रमुख विपिनलाल कर्णले जानकारी दिए।
‘स्वराज ट्याक्टरमा कम्पनीले उत्पादन गरेको र ओम्नी अटोमोबाइलले पेस गरेको कागजातमा फरक परेको विषय उठेपछि दर्ता तथा नामसारी रोकेर ओम्नीसँग जवाफ मागेका छौं,’ कर्णले भने, ‘कम्पनीको जवाफ आएपछि आवश्यक प्रक्रियामा जान्छौं।’
यता काब्रा समूहका अध्यक्ष राजेन्द्र काब्रा भने यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँछन्। ओम्नी अटोमोबाइल काब्रा समूहकै एक कम्पनी हो जुन स्वराज ट्याक्टरको नेपालका लागि आधिकारिक विक्रेता हो। ट्याक्टरका बारेमा विरगञ्ज शाखाले हेर्ने भएकाले आफूलाई यसबारेमा जानकारी नभएको भन्दै उनी पन्छिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।