राँझा- ४३ करोड रुपैयाँ रकम अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका ४ जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ।
जिल्ला अदालत बाँकेका न्यायाधीश धनिश्वर पौडेलको इजलासले आइतबार सहकारीका प्रमुख प्रबन्धक गोपाल भण्डारी, सहायक प्रमुख प्रबन्धक गङ्गाधर सुवेदी, बैंकिङ प्रबन्धक अरुणकुमार पाठक र सहउपसहायक बलराम यादवलाई थुनामा राख्न आदेश दिएको हो।
अभियुक्तद्वय लेखा समिति सदस्य स्थिरमणि बज्राचार्य र ओमप्रकाश चौधरीसँग जनही २० लाख रुपैयाँ धरौटी मागिएको छ। बज्राचार्य २० लाख रुपैयाँ नगद धरौटी बुझाएर रिहा भएका छन् भने चौधरीले धरौटीमा जायजेथा राखी पाऊँ भनेर निवेदन दिए पनि जग्गाको मूल्याङ्कन लगायतका प्रक्रियामा कम्तीमा १ साता लाग्ने भएकाले थुनामै बस्नुपर्ने भएको छ।
जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारीको रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोगपत्र दायर भएको थियो। हालसम्म ४ जना कर्मचारी र २ जना लेखा समिति सदस्य गरी ६ जनामात्र पक्राउ परेका छन्। ३५ जना अभियुक्त फरार छन्।
बाँके प्रहरीले गठन गरेको विज्ञ समूहको सहयोगमा भएको छानबिनमा सहकारीको कूल पूँजी ५२ करोड रुपैयाँबाट ४३ करोड रुपैयाँ अपचलन भएको दाबी गरिएको छ।
सहकारीका ११ हजार ९ सय ८ निक्षेपकर्ता र १ हजार ८ सय ६० शेयरधनीमध्ये १ हजार ९ निक्षेपकर्ता र सेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।