काठमाडौं- प्रभु बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारणसभामा बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव छलफलका लागि लैजाने भएको छ।
आगामी मंसिर ६ गते हुने वार्षिक साधारणसभामा बैंकको संस्थापक सेयरधनीको ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४९ प्रतिशत सेयर स्वामित्व रहनेगरी प्रबन्धपत्र संशोधन सम्बन्धी प्रस्ताव पनि साधारण सभामा लैजाने जनाइएको छ।
हाल प्रभु बैंकमा संस्थापक सेयरधनीहरूको ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीहरूको ४५ प्रतिशत सेयर स्वामित्व रहेको छ। त्यसैगरी संस्थापक समूह र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने संख्यामा पनि संशोधन गर्न लागिएको छ।
उक्त प्रस्ताव पनि साधारण सभामा लगिने जनाइएको छ। बैंकले धितोपत्र सम्बन्धी कारोबार गर्ने सहायक कम्पनी स्थापना तथा संचालन गर्ने व्यवस्था थप गर्नका लागि पनि प्रबन्धपत्र संशोधन गरिने जनाएको छ।
बैंकले आगामी वार्षिक साधारणसभामार्फत् ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजीको १६ प्रतिशतले हुने १ अर्ब ४२ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा लैजानेछ।
त्यस्तै बैंकले अन्य बैंक तथा वित्तीय संस्था प्राप्ति (एक्विजिसन)का लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत साधारण सभामा पेस गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।