काठमाडौं– ग्लोबल आइएमई बैंक र जनता बैंक लिमिटेडले एकै दिन मंसिर २ गते वार्षिक साधारणसभा घोषणा गरेका छन्। यो वर्ष ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारणसभा र जनता बैंक लिमिटेडले १०औं वार्षिक साधारणसभा मनाउँदै छ।
यी दुई वटा वाणिज्य बैंक मर्जरमा जानका लागि यसअघि नै सहमति भइसकेको छ। आउँदो साधारणसभामा पनि मर्जरको विषयलाई मुख्य एजेण्डा बनाइएको छ भने साधारणसभाबाटै मर्जर घोषणालाई पनि अन्तिम रुप दिइने जनाइएको छ।
साधारण सभाबाट दुई वटा बैंकबीचको स्वाप रेसियो (१ः०.५ यसअघि तय भएको) लाई पनि टुंगो लगाइने छ। यसअघि दुई बैंकबीच भएको सहमतिअनुसार ग्लोबल आइएमई बैंकको १ सय कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता सेयर रहने गरी स्वाप रेसियो निर्धारण गरिएको थियो। त्यसैगरी कर्मचारी समायोजन र संचालक समितिको विषलाई पनि दुवै बैंकको साधारण सभामा छलफल गरिने छ।
सोही दिन दुई वटै बैंकले गत आर्थिक वर्षको मुनाफा पनि बाँड्दै छन्। ग्लोबल आइएमई बैंकले गत वर्षको मुनाफा बाँड्दा कुल चुक्ता पूँजीको १२ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने छ भने जनता बैंकले कुल चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेस गरिने छ।
लाभांश वितरणपछि ग्लोबल बैंकको कुल चुक्ता पूँजी ११ अर्ब ६२ करोड रुपैयाँ र जनता बैंकको चुक्ता पूँजी ८ अर्ब ४८ करोड रुपैयाँ हुने छ। मर्जरपछि भने यो संस्था सबैभन्दा धेरै चुक्तापूँजी भएको वाणिज्य बैंक हुने छ।
अघिल्लो आर्थिक वर्षमा नै मर्जरमा जाने प्रारम्भिक सहमति गरेका यी दुई संस्थाले चालु आर्थिक वर्षमा मर्जरको टुंगो लगाई संयुक्त कारोबार समेत सुरु गर्ने छन्। मर्जरमा जाने भएपछि गत असार २२ गतेदेखि नेप्सेले दुई वटै संस्थाको सेयर कारोबार रोकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।