काठमाडौं- पछिल्लो समय बैंकिङ क्षेत्रमा वित्तीय असन्तुलन बढ्दै गएको देखिएको छ। निक्षेपका तुलनामा कर्जा प्रवाहको अनुपात बढी हुँदा वित्तीय असन्तुलन बढ्न पुगेको हो।
नेपाल राष्ट्र बैंकका अनुसार गत भदौं मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप शून्य दशमलव ४ प्रतिशतले बढेको छ। तर सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा भने २ दशमलव ५ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ दशमलव ३ प्रतिशतले बढेको थियो भने यस्तो कर्जा २ प्रतिशतले बढेको थियो। यसरी अघिल्लो वर्षको तुलनामा निक्षेप शुन्य दशमलव ९ प्रतिशतले घटेको छ भने कर्जा शून्य दशलमव ५ प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ प्रतिशतले बढेको छ।
२०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतिको अंश क्रमशः ७ दशलमव ९ प्रतिशत, ३२ दशमलव ५ प्रतिशत र ४८ दशमलव ३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७ दशलमव ९ प्रतिशत, ३४ दशमलव २ प्रतिशत र ४५ दशमलव ७ प्रतिशत रहेको थियो। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४ दशमलव ६ प्रतिशत रहेको छ। २०७५ भदौ मसान्तमा यस्तो निक्षेपको अंश ४४ दशमलव ७ प्रतिशत रहेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०७६ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २० प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये ६४ दशमलव ३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ दशमलव ७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ। २०७५ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६३ दशमलव १ प्रतिशत र १४ दशमलव ३ प्रतिशत रहेको थियो।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा १ दशमलव १ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ दशलमव २ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३ दशमलव २ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २ दशलव ८ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३ दशमलव ८ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।