काठमाडौं- २०७४ फागुनबाट बस सेवा सञ्चालन गरेको मयुर यातायात संकटग्रस्त बनेको छ।
बस सञ्चालनसँगै मयुर यातायातले सिन्डिकेट अन्त्यमा महत्वपूर्ण भूमिका खेलेको थियो। तर अहिले सोही बस खरिद गर्दा लिएको कर्जा समयमै तिर्न नसक्ने बनेको छ।
मयुर यातायात प्रालिको नाममा २० वटा बस माछापुच्छ्रे बैंकमा धितो राखेर कर्जा लिइएको थियो। माछापुच्छ्रे बैंकले कात्तिक ८ गते ऋणीलाई भाखा नाघेको कर्जा चुक्ता गर्ने सम्बन्धमा ३५ दिने सार्वजनिक सूचना नै प्रकाशित गरेको छ।
बैंकले व्यक्तिगत जमानतकर्ताहरुको समेत नाम प्रकाशित गरेको छ। मछापुच्छ्रे बैंकको स्वयम्भू शाखाबाट मयुर यातायातले २० बटा बस कर्जामा निकालेको थियो।
बैंकले लिइएको कर्जाको ब्याज तथा सावा समयमा भुक्तानी नभएको उल्लेख गरेको छ।
‘यस माच्छापुछ्रे बैंकको स्वयम्भू शाखा कार्यालयबाट उल्लेखित ऋणीले प्राप्त गरेको कर्जाका साँवाब्याज तोकिएको म्यादमा चुक्ता नगरेको र यसअघि पनि मौखिक तथा लिखित रुपबाट कर्जा चुक्ता गर्न गरेको लागि गरेको अनुरोध गराउँदा समेत शर्तको कबुलियतको उल्लंघन गरेकाले ऋणीको नाममा बक्यौता ऋणीकर्जा चुक्ता गर्न यो सूचना प्रकाशित गरिएको’ उल्लेख छ।
बैंकले ११ जाना जमानत व्यक्तिहरुको नाम समेत सूचनामै प्रकाशित गरेको छ। मयुरले किनेका उक्त २० वटा बस टाटाका हुन्। त्यस्तै बैंकले ३५ दिन भित्र बैंकमा सम्पर्क राखी सम्पूर्ण कर्जाको सावाँ, व्याज चुक्ता गर्न भनेको छ।
सो आवधिमा ऋण चुक्ता नगरे बैंकले कर्जा लिँदा राखेको धितो लिलाम गर्ने, ऋणी, सेयरधनी, सञ्चालक तथा जमानी दिनेको नाम समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने जनाएको छ। मयुर यातायात प्रालिले काठमाडौंको रिङरोडका साथै बनेपा हुँदै धुलिखेलसम्म बस सञ्चालन गर्दै आएको छ। बस सञ्चालन गर्दाताका मयुर यातायातका अध्यक्ष मोहनबहादुर श्रेष्ठले केही समयमा १ सय वटा बस थपेर देशभर यातायात सेवा विस्तार गर्ने बताएका थिए।
सार्वजनिक बसमा जकडिएर रहेको सिन्डिकेट अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेको मयुर यातायात आफैमा संकटउन्मुख हुनुले अर्को प्रश्न उब्जाएको छ। हाल कम्पनी मोडलमा सञ्चालित सबैजसो यातायात कम्पनीहरु घाटामा रहेका छन्। यसले यातायात क्षेत्रमा कम्पनी मोडल असफल त हुने होइन भन्ने संकेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।