काठमाडौं- नेपाल र बंगलादेशबीच सिधा बस सेवा चलाउन प्रारम्भिक सहमति भएको छ। दुई देशलाई सडक सञ्जालमार्फत जोड्ने प्रारम्भिक सहमति भएको हो। सहमति कार्यान्वयनमा आएपछि भारतमा जस्तै बंगालादेशमा पनि बस चढेर जान सकिनेछ।
यही कात्तिक ५ र ६ गते काठमाडौंमा बसेको दुई देशका सहसचिवस्तरीय प्राविधिक समिति (व्यापार) को बैठकले यात्रुबाहक बस सञ्चालनका लागि छलफल गरेको र प्रारम्भिक सहमति जुटाएको उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।
‘सहसचिवस्तरीय बैठकमा दुई देशबीच यात्रुबाहक बस सञ्चालन गर्ने प्राविधिक सहमति भएको छ,’ उनले भने, ‘यो सहमतिलाई अन्तिमरुप भने सचिवस्तरिय बैठकले गर्नेछ।’ नेपाल र बंगालादेशबीच सिधा बस सेवा सञ्चालनमा आए दुई देशमा यात्रा गर्ने यात्रीले निक्कै सहजता पाउने उनको भनाइ छ।
नेपाल र बंगालादेशबीच सिधा बस चलाउन भारतको सहमति अनिवार्य हुन्छ। बंगालादेश र नेपालको बीचमा भारतीय भू-भाग छ। यसअघि नेपालमा भएको सार्क शिखर सम्मेलनमा समेत सार्कभर बस सेवा सञ्चालन गर्ने सहमति भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।